शुक्रबार, वैशाख १४, २०८१

क्रिकेटमा रियल भिडन्त, उत्सव र तनाव उस्तै !

अंग्रेजले भारत छाड्ने क्रममा पाकिस्तान अलग मुलुकका रुपमा अस्तित्वमा आएपछि विभाजन र धार्मिक कारणले यी दुई मुलुकलाई सौता झैं बनायो ।

नेपालखोज २०७८ कार्तिक ७ गते १२:१४

काठमाडौं । क्रिकेटमा भारत र पाकिस्तान एक-अर्काको आमने-सामने हुनु हुँदैन यी दुवै देशको माहोल नै अर्कै हुन्छ । यी दुवै देशका सञ्चारमाध्यमहरुदेखि अधिकांश जनताको ध्यान त्यही प्रतिस्पर्धामै केन्द्रित हुन्छ । त्यो एउटा सामान्य खेल प्रतिस्पर्धा मात्र रहँदैन र मैदान, मैदान हुँदैन मानौं रणभूमिमै परिणत हुनपुग्छ ।

भारत र पाकिस्तानबीचको खेल प्रतिस्पर्धाले यी दुई छिमेकी देशको कटुतापूर्ण आपसी सम्बन्धमा विद्यमान सुषुप्त मनोभावनालाई जगाइदिन्छ । हुन त पहिले यी दुवै देश बेलायतको उपनिवेशका रुपमा एउटै छातामुनि थिए । अंग्रेजले भारत छाड्ने क्रममा पाकिस्तान अलग मुलुकका रुपमा अस्तित्वमा आएपछि विभाजन र धार्मिक कारणले यी दुई मुलुकलाई सौता झैं बनायो ।

भनिन्छ भारत र पाकिस्तानबीचको क्रिकेट प्रतिस्पर्धा मैदानमा कम मैदान बाहिर बढी खेलिन्छ ।

भारत र पाकिस्तान दुवैका लागि देशको प्रतिष्ठासँग गाँसिने यस्तै प्रतिस्पर्धा आज साँझ हुँदै छ । भारत र पाकिस्तानका क्रिकेट टिम टी-ट्‌वान्टी वर्ल्‍ड कप क्रिकेट प्रतियोगिताका क्रममा एक-अर्काको आमने-सामने हुन लागेका हुन् । यो यसपटकको टी-ट्‌वान्टीकै सर्वाधिक रोमाञ्चक र ठूलो प्रतिस्पर्धा हो । जसका लागि भारतीय र पाकिस्तानीहरु मात्र होइन सारा संसारका क्रिकेटप्रेमीहरु प्रतीक्षारत छन् ।

आज आइतबार साँझ ७.४५ मा भारत र पाकिस्‍तानबीचको खेल दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्‍टेडियममा खेलिनेछ । यो खेल आजै दिउँसो ३.४५ मा शारजाहँमा हुने अरु दुई दक्षिण एसियाली मुलुक बंगलादेश र श्रीलंकाबीचको खेलपछि सुरु हुनेछ ।

वर्ल्‍ड कप क्रिकेटको इतिहास हेर्ने हो भने यी दुई देशको आपसी प्रतिस्पर्धामा भारतको पल्ला भारी रहँदै आएको छ । बितेका कैंयन् वर्षदेखि यी दुई देशबीच मैत्रीपूर्ण खेल हुन छाडेको छ । उनीहरु केवल आईसीसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र एक-अर्काको सामुन्ने हुन्छन् ।

त्यसैले पनि संसारभरका क्रिकेट प्रशंसकहरु आजको जस्तो म्याचको प्रतीक्षामा रहन्छन् । भारत र पाकिस्तान टी-ट्‌वान्टीमा आठपटक आमने-सामने भएका छन् । जसमा ६ पटक भारतले जित हासिल गरेको छ भने एक खेल पाकिस्तानले जितेको छ । यसमा एक खेल बराबरीमा टुंगिएको थियो ।

टी-ट्‌वान्टी वर्ल्‍ड कप २०२१ अन्तर्गत आज भारत-पाकिस्तानबीच हुने खेलको प्रत्यक्ष प्रसारण टेलिभिजनमा स्‍टार स्‍पोर्ट्स नेटवर्क तथा डीडी स्‍पोर्ट्स च्यानलमा हेर्न सकिनेछ ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया