‘बाढी, पहिरोबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई छुट्टै राहतकाे व्यवस्था हुन्छ’

काठमाडाैं । सरकारले बाढी, पहिरो र डुबानबाट प्रभावित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई छुट्टै राहत दिने विषयमा छलफल सुरु गरेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आफ्नो मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने बाढी, पहिरो, डुबानलगायतका विपद्मा परेकाहरुलाई राहत दिने विषयमा छलफल सुरु गरिएको बताएकी छन् ।
आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कुराकानीमा उनले त्यसका लागि स्थानीय सरकारसँग तथ्यांक लिएर मन्त्रालयसँग सरोकार राख्ने महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई के गर्न सकिन्छ भन्ने विषयमा ठोस निर्णय लिने जानकारीसमेत दिइन् ।
मन्त्री रेग्मीले विपत्ले थप पीडामा परेका सुत्केरी, नवजात शिशुको स्तनपान, गर्भवती महिलालगायतलाई तत्काल राहत दिने काम भने स्थानीय सरकारको भएको पनि स्पष्ट पारे ।
मन्त्री रेग्मीले सरकारले स्थलगत अवलोकन गरेरै बाढी, पहिरो, डुबान प्रभावितहरुलाई राहत दिने तयारी गरेको र त्यसका लागि प्रधानमन्त्री आफैं स्थलगत अवलोकनमा जाने काम गरिरहनु भएको स्मरण गराए । उनले विपद्मा परेका नागरिकहरुलाई तत्काल राहतको व्यवस्था गर्ने काममा ढिलाई नगर्न स्थानीय सरकारहरुलाई आग्रहसमेत गरिन् ।

प्रतिक्रिया