अर्थमन्त्री र बेलायती राजदूतबीच जलवायु परिवर्तनको असरबारे छलफल

नेपालखोज २०७८ कार्तिक ७ गते १५:१९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । आज (आइतबार) मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।

भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जन, धन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ ।

साथै पुन:स्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ ।
यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् ।

यस्तै भेटमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया