बाढीपहिरो पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न इन्सेकको माग

नेपालखोज २०७८ कार्तिक ७ गते १५:५६

काठमाडौं । वर्षायामको समाप्तिपश्चात एक्कासी मनसून सक्रिय भई परेको भिषण वर्षाका कारण सिर्जित विपत्को दुखद् घडीमा मृतकका परिवार तथा पीडित नागरिकको सहायतामा तत्काल जुट्न इन्सेकले नेपाल सरकार, प्रदेश तथा स्थानीय सरकारहरु र सम्पूर्ण सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ ।

इन्सेकले कात्तिक ७ गते जारी गरेको विज्ञप्तिमा पीडितहरूको सहायताका लागि सरकारी निकायको ध्यानाकर्षण गराइएको हो । सामाजिक संस्था, विज्ञ तथा सम्बन्धित सरोकारवालाहरुको परिचालन गरि वर्षैपिच्छे दोहोरिने यस्ता घटना र त्यसको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी तथा प्रतिकार्यको सुनिश्चितताका लागि कार्य गर्न आग्रह गर्दछौँ ।

विपत्को समयमा तीनै तहका सरकारको एकीकृत परिचालन गरी उद्दार, राहात र क्षतिपूर्तिको व्यवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’ जारी विज्ञप्तिमा उल्लेख छ ।

बालीनाली र पशु चौपायको अनिवार्य बिमाको व्यवस्था मिलाउन इन्सेकले तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ’समयसमयमा हुनसक्ने जुनसुकै प्रकारको विपद्को व्यवस्थापनका लागि तल्लो तहसम्म संयन्त्र निर्माण गर्न र आवश्यक परेका बेला त्यस्ता संयन्त्रलाई तदारूकताका साथ परिचालनको नीति अबलम्बन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउछौँ ।’

बेमौसमी बाढीपहिरोको प्रकोपका कारण १ सय १ जनाको मृत्यु भएको, ३७ जना बेप्पत्ता भएको, ७८ ओटा घर, १६ ओटा गोठ, ६ ओटा पुल, एउटा विद्यालय र तीन ओटा सरकारी कार्यालयमा क्षति पुगेको, १ सय ८६ ओटा पशु चौपाय मरेको, १ हजार १ सय ८८ ओटा घर परिवार विस्थापित भएको नेपाल प्रहरीले जनाएको छ । यो अवधिमा बाढीका कारण २ हजार २ सय ३२ ओटा घर डुबानमा परेका प्रहरीको प्राम्भिक तथ्यांक छ ।

प्रतिक्रिया