बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन

नेपालखोज २०७८ कार्तिक ७ गते २०:१६

काठमाडाैं । संसदीय समितिले बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको आइतबार सिंहदरवारमा बसेको बैठकले बेमौसमी वर्षाका कारण आएको बाढिपहिरो पीडितहरुलाई तत्काल उचित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

बाढिपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोज कार्यलाई प्रभावकारी रुपमा संचालन गरी पीडितलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देश गरिएको समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् ।

समितिले वर्षात्का कारण अवरुद्ध सडक तथा पुलहरु तत्काल संचालनमा ल्याउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सचेत गराएको छ ।

सभापति खड्काले मनाङ, बझाङ र बाजुरा जिल्ला बाढिपहिरोका कारण ठप्प रहेको उल्लेख गर्दै तत्काल संचालनमा ल्याउन पनि सरकारलाई निर्देशन दिइएको बताए ।

समितिले पुष्पलाल मध्य पहाडी लोकमार्ग आयोजनाको कार्य प्रगति सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै सम्पन्न हुने लक्ष्य तोकि कामलाई तीब्र ढंगले अघि बढाउन सरकारलाई निर्देश गरेको छ ।

१४ वर्ष बितिसक्दा पनि सो आयोजनाको भौतिक प्रगति ५८ प्रतिशत मात्रै भएकाले त्यसलाई सक्ने लक्ष्य तत्काल तोकि कामलाई छिटो अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको पनि समितिले जनाएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवसहित मन्त्रालयका पदाधिकारीहरुले बाढिपहिरोबाट उत्पन्न सडक, पुलहरुको अवस्था र त्यसको व्यवस्थापनका लागि भईरहेका कामबारे समितिलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया