पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा एमाले महासचिव पोखरेलकाे जोड

नेपालखोज २०७८ कार्तिक ९ गते १३:५६


काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन् । टोखा नगरकमिटीको प्रथम नगर आधिवेशनको आज उद्घाटन गर्दै उनले पार्टी एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताए ।

जनताका हितभन्दा ठूलो कुरा नेता र पार्टी नहुने भन्दै महासचिव पोखरेलले जनताको हितमा काम गरेर २०७४ सालकै अवस्थामा पार्टीलाई पुर्‍याउनुपर्नेमा जोड दिए । उनले राजनीतिमा अनेक सम्भावना रहेको उल्लेख गर्दै त्यसअनुसार अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

महासचिव पोखरेलले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गरे । उनले नेतृत्व चयन गर्दा पार्टीको विधान अनुसार ३३ प्रतिशत अनिवार्य महिला प्रतिनिधित्व गराउनुपर्ने बताए ।

१०औं राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज देशभर एमालेको स्थानीय तहको अधिवेशन गर्दै छ । एमालेले यही कात्तिक ६ गते वडा कमिटी अधिवेशन सम्पन्न गरेको छ । एमालेको आगामी म‌सिर १० देखि १३ गतेसम्म १० औं राष्ट्रिय महाधिवशेन हुँदै छ ।

प्रतिक्रिया