‘नेपालीहरु अब वीर गोर्खाली भएर जाग्नुपर्छ’

काठमाडौं । नेपाल प्रहरीका पूर्व नायब महानिरिक्षक (डिआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘ काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।
मंगलबार (आज) काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘ काठमाडौं डिलेमा रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् । उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण विरोध गर्नुपर्ने बताए ।
उनले काठमाडौं दुविधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरु नै भारतसँग लम्पसारवादमा गएको आरोप लगाए ।
पूर्व डिआईजी खरेलले किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे ।
कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भूटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरुले पुस्तक जलाउनुपर्ने बताए ।
उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उनले नेपालीहरु अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए । उनले नेपाललाई भूटान बनाएर भारतको अधिनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरुको दिवा सपना भएको उल्लेख गर्दै उनले सरकारमा सहभागी र नेपालको मुलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताए ।
पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भनेपनि यो सार्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरुलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताए । उनले देशमा न्याय मर्न नदिन अब फेरि मन र मुटुमा बीर गोर्खाली बन्नुपर्ने बेला भएको बताए ।

प्रतिक्रिया