‘नेपालमा हुने जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्छ’

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातिय विभेदलाई सदाको लागि अन्त्य गर्नुपर्ने बताएका छन् । कार्तिक ७ र ८ गते काठमाडौंमा भएको दलित अधिकार सुनिश्चितताको लागि जनप्रतिनिधिको भुमिका विषयक दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको १५ बुँदे घोषणापत्र बुझाउन गृहमन्त्रालय पुगेका दलित समुदायका नेता तथा जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले जातिय विभेद गर्न नपाउने भनि संविधानमा स्पष्ट प्रावधान रहेको उल्लेख गर्दै सो प्रावधानलाई पालना गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
उनले जातिय विभेदलाई यही पुस्ताले सदाको लागि अन्त्य गर्नुपर्ने बताए । आगामी पुस्ताले जातिय विभेदको विषयमा समय खर्च गर्नु नपरोस् भन्ने सबैको मानसिकता रहेको उल्लेख गरे । गृहमन्त्री खाँणले चाडपर्व मनाउने क्रममा दलित समुदायमाथि नेपालको कुनैपनि भु-भागमा असमान व्यवहार नहोस् भन्नेमा राज्य प्रणाली संवेदनशील रहेको पनि बताए । यसको निम्ति सम्बन्धित सुरक्षा निकायलाई परिपत्र गरिएको पनि उनले उल्लेख गरे ।
उनले विपतबाट पीडित नागरिकहरुलाई सरकारले राहत तथा पुर्नस्थापना गर्ने पनि बताउनुभयो । क्षतिको विवरण अध्ययन गर्न सरकारले कार्यदल बनाएको र कार्यदलको प्रतिवेदन आएपछि आवश्यक निर्णय गरिने उनले बताए ।

प्रतिक्रिया