सोमबार, जेठ ७, २०८१

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका आज सार्वजनिक गरिने

नेपालखोज २०७८ कार्तिक ११ गते ६:५८

काठमाडौं । कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका आज सार्वजनिक गरिने भएको छ ।

कांग्रेस पदाधिकारीसँगको छलफलमा भएको सहमति भएअनुसार मंसिर २७ देखि ३० गते सम्ममा सम्पन्न गर्ने गरी १४औं महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने भएको हो ।

कांग्रेस निर्वाचन समितिको बुधबारको बैठकले महाधिवेशनको नयाँ मिति तय गर्दै कार्यतालिका बनाए पनि आज मात्र सार्वजनिक गर्ने जनाएको छ ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार नयाँ कार्यतालिकाको खाका तयार भए पनि निर्णय हुन बाँकी भएकोले आज मात्र सार्वजनिक गर्न लागिएको हो ।

यसअघि मंसिर ९ गतेदेखि १३ गतेसम्म गर्ने भनिएको महाधिवेशनको कार्यतालकाअनुसार तल्लो तहको अधिवेशन प्रभावित भएपछि मिति सारिएको हो ।

मंगलबार कांग्रेस पदाधिकारीसहित बसेको निर्वाचन समितिको बैठकमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्रै महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउन निर्वाचन समितिलाई म्यान्डेट दिएका थिए ।

कांग्रेसले हालसम्म १३ जिल्ला अधिवेशन गरेको छ भने ४७ जिल्लामा पालिकासम्मको अधिवेशन गरेको छ । ६४ जिल्लामा वडा अधिवेशनको प्रक्रिया अघि बढाइसकेको कांग्रेसको प्रदेश–२ लगायत १३ जिल्लामा अधिवेशन प्रक्रिया नै शुरु हुन सकेको छैन ।

प्रतिक्रिया