शनिबार, जेठ ४, २०८२

किशोरकिशोरीले मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?

मीना साउँद २०७८ कार्तिक ११ गते ११:०७

काठमाडौं । मानसिक समस्या यतिबेला धेरैको साझा समस्या भइसकेको छ । नेपाललगायत विश्वका धेरै देशलाई यतिबेला मानसिक समस्याले पिरोलिरहेको छ ।

कोभिड संक्रमणपछि यो समस्या थप विकराल बन्दै गएको छ । मानसिक समस्या भन्ने वित्तिकै हामी मनको रोग भन्ने बुझ्छौं । मानसिक रोग यो वा त्यो उमेरमा लाग्ने भन्ने हुँदैन ।

यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ । बढ्दो सहरीकरण, प्रविधिको उच्च प्रयोग, व्यस्त जीवनशैली आदिका कारण पछिल्लो समय मनोरोगीहरुको संख्या बढिरहेको छ ।

मानसिक रोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । व्यक्तिको बोलीवचन, आचरण, स्मरण, चेतना, व्यवहार आदिमा परिवर्तन आउन थाल्छ ।

यसमा आएको परिवर्तनबारे स्वयं व्यक्ति भने अनविज्ञ हुन्छ । यो रोगलाई उनीहरुले धेरै रहस्यमय रुपमा लिइरहेका हुन्छन् । सधैँ चिन्तित हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन खुसी नहुनु, मनलाई नियन्त्रण गर्न नसक्नु, निन्द्रा कम लाग्नु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठेरो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, विना कारण डर लाग्नु, आफूमात्र ठिक अरु सबै बेठिक भन्ने लाग्नु मानसिक समस्याका लक्षण हुन् ।

मनोविद् डा. करुणा कुँवरका अनुसार मनोरोग दुई किसिमका हुन्छन्, सामान्य र कडा । शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन् । शरीरका अंगमध्ये मस्तिष्क महत्त्वपूर्ण भाग हो । मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ ।

जसरी फोक्सोमा निमोनिया र टिबीजस्ता रोग लाग्छन् । कलेजोमा खराबी भएर कमलपित्त लाग्छ मस्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छन् । त्यसरी लाग्ने रोगहरुले मस्तिष्कमा मात्र असर पार्दैनन् । मन, विचार, भावना र बुद्धिमा पनि प्रतिकूल असर पार्छन् । यस्तो हुनु मानसिक रोग हो ।

मानसिक रोगबाट पीडितले समाजका अरू मानिससँग राम्रो सम्बन्ध राख्न सक्दैन र भावी योजना र कार्यक्रम पनि सही रूपले तर्जुमा गर्न सक्दैन । साथै ऊसँग सम्बन्धित वातावरण र उसको भित्री वा बाहिरी परिस्थितिको ठिक मुल्यांकन पनि गर्न सक्दैन ।

वैज्ञानिकले अरू रोगजस्तै मानसिक रोग पनि शरीरको एक केन्द्रीय स्नायू प्रणालीको खराबीबाट उत्पन्न हुने रोग हो भन्ने पत्ता लगाए । संसारभर जनसंख्याको लगभग १५ प्रतिशत मानिस साधारण वा कडा कुनै न कुनै मानसिक रोगबाट पीडित हुन्छन् । अझ पछिल्लो समय किशोरकिशोरीहरु यसबाट बढी प्रभावित हुन थालेका छन् ।

महामारीमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?
विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरु कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथीसँग छुट्दा किशोरावस्थाको समयमा झनै अप्ठ्यारो हुनसक्छ । महामारीको बेलामा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्न यी कुराहरु गर्नु पर्दछ ।

१. महामारीको समयमा डर र चिन्ता सामान्य हो भन्ने बुझ्ने
महामारीले ल्याउने अन्योलपूर्ण वातावरणले चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो । यस्तो बेलामा डर र चिन्ता कम गर्न गलत र भ्रामक सूचनाहरुबाट बच्नु पर्दछ । भरपर्दो र विश्वासिलो माध्यमबाट मात्रै सूचना र जानकारी लिनु पर्दछ । अप्रिय घटनाको बारेमा धेरै पढ्ने वा धेरै हेर्ने गर्नु हुँदैन ।

२. मनपर्ने काममा आफूलाई व्यस्त राख्ने
होमवर्क गर्ने, टिभी हेर्ने, नयाँ किताब पढ्ने, चित्र कोर्ने वा नयाँ सीप सिक्ने आदि गरेर आफूलाई व्यस्त राख्ने गर्नुपर्छ । यसरी आफूलाई रमाइलो लाग्ने काम गर्नाले डर वा चिन्ता पनि लाग्दैन । नयाँ कुरा पनि सिकिन्छ ।

३. साथीसँग घुलमिल हुने नयाँ उपाय खोज्ने र परिवारसँग समय बिताउने
साथीहरुसँग सम्पर्कमा रहिरहन सिर्जनशील उपाय सोच्नु पर्दछ । इन्टरनेटमा सबैजना मिलेर गर्न सकिने सामूहिक क्रियाकलाप आयोजना गर्ने र सहभागिता जनाउने । आफ्नो परिवारका सदस्यहरुसँग पनि सिर्र्जनात्मक कार्यहरु गरेर समय बिताउनु पर्छ ।

४. आफू र अरुप्रति दयालुु हुनुपर्छ
एक–अर्कालाई सहयोग गर्नु पर्दछ । गाह्रो अप्ठेरोमा परेका साथीहरुलाई साथ र हौसला दिनु पर्छ । हिंसा वा दुव्र्यवहारमा कोही परेका छन् भने बाल हेल्पलाइन नम्बर १०९८ वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्नुपर्छ ।

५. नजिकका साथी वा अभिभावकसँग आफ्ना भावना राख्नुपर्छ
आफ्ना विश्वासिला र मनमिल्ने साथीभाइ वा अभिभावकसँग आफ्नो भावना साटासाट गर्नाले मनकोे बोझ हलुका हुन्छ । यसले डर चिन्ता कम गर्न पनि सहयोग गर्छ । उनीहरुको सुझाव र सहयोगले आफूलाई परेको समस्याको समाधान निकाल्न सकिन्छ ।

प्रतिक्रिया