राष्ट्रिय महिला लिग : गैंडाकोट र कैलालीको सहज जित

काठमाडौं । गैंडाकोट नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा विजयी सुरुवात गर्दा कैलालीको गोदावरी नगरपालिकाले पनि जित निकालेको छ ।
ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा हेटौडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै गैडाकोटले सुखद सुरुवात गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा गैडाकोटले रोमाञ्चक जित निकाल्दै स्पष्ट अंक जोडेको हो ।
गैंडाकोटको जितमा ऋतु तामाङले निर्णायक गोल गरिन् । जितसँगै समूह एफको गैंडाकोटले महत्वपूर्ण ३ अंक जोडेको छ । जितपछि नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ ।
उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा अन्र्तगत कैलालीको गोदावरी नगरपालिकाले पोखरा महानगरपालिकामाथि भने आधा दर्जन गोल गर्यो ।
समूह ‘जी’ अन्तर्गतको खेलमा गोदावरीले एन्फा कम्प्लेक्समा सातदोबाटोमा पोखरालाई ६–० ले पराजित गरेको हो । गोदावरीको जितमा शर्मिला थापाले ह्याट्रिक गरिन । यसैगरी बिमला चौधरीले दुई र हिमा चौधरी एक गोल गरे । खेलको प्लेअर अफ दि म्याच शर्मिला थापा चुनिइन् ।
प्रतियोगितामा भोली दुई खेल मात्र हुनेछन् । पहिलो खेल बराहक्षेत्र नगरपालिका र बेदकोट नगरपालिका तथा दोस्रो खेल धरान एसएमसी र सुनकोसी नगरपालिकाबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
प्रतिक्रिया