स्वास्थ्यमन्त्री खतिवडाले गरे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन

नेपालखोज २०७८ कार्तिक ११ गते १५:०९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेतृत्वको टोलीले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेको छ ।

प्रतिष्ठानको सहकुलपतिसमेत रहेका मन्त्री खतिवडा नेतृत्वको टोलीले हालै धरान पुगेर अनुगमनका क्रममा राजनीतिक दलका स्थानीय प्रतिनिधि, सरोकार पक्ष, नागरिक दबाब सञ्जालका सदस्यलगायतसँग छलफल गरेको हो ।

सो अवसरमा मन्त्री खतिवडाले प्रतिष्ठानको आकस्मिक सेवाको अनुमगन गरी सेवालाई थप व्यवस्थित बनाउन निर्देशन दिएका थिए । उक्त सञ्जालमा स्थानीय जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पत्रकार महासंघ, सञ्चारकर्मी र राजनीतिक दलका प्रतिनिधि छन् ।

विभिन्न विवाद र आरोपमा मुछिएका पदाधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने सुझाव टोलीलाई प्राप्त भएको बताइएको छ । मन्त्री खतिवडाको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबिन समितिका सदस्यमा सिनेट सदस्य एवं मन्त्रालयका सचिव डा. रोशन पोखरेल र सिनेट सदस्य एवं धरानका नगरप्रमुख तिलक राई रहेका छन् ।

छानबिन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र निर्देशक डा. गौरीशङ्कर शाहलाई छुट्टाछुट्टै भेटेर बयान लिएको थियो । छानबिन समितिको टोलीले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को ‘घ’ अनुसार पदाधिकारीको बयान लिएको हो ।

प्रतिष्ठानमा अहिले ७ अर्ब रुपैयाँ सञ्चित घाटा रहेको छ भने आर्थिक वर्ष २०७८-७९ मा अहिलेसम्म ९१ करोड रुपैयाँ घाटा रहेको पाइएको छ ।

दोषीमाथि कारबाही गर्न, उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न, विचाराधीन मुद्दा फास्टट्रयाकबाट छिटो निरुपण गर्न र प्रतिष्ठानमा सुशासन कायम राख्न तत्काल पहल लिन सरोकार पक्षले मन्त्री खतिवडासँग आग्रह गरेको थियो ।

प्रतिष्ठानमा बेथिति बढेको, आर्थिक अनियमिततामा पदाधिकारी संलग्न रहेको भन्दै कारबाहीको माग गरी अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलनमा छन् ।–रासस

प्रतिक्रिया