न्यायपालिकाको विकृति र भ्रष्टाचार रोक्न सक्नुभएन इजलासमा नबस्‍नू : बार

नेपालखोज २०७८ कार्तिक १२ गते १८:०७

काठमाडाैं । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजिनामा माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बार एसोसिएसनको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता कायम राख्न नसकेको भन्दै प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतको इजलासमा नबस्न माग गरेको छ ।

त्यसैगरी बैठकले कार्तिक १४, १५, १६ र १७ गतेका दिन प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधी सर्वोच्च अदालतमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनका महासचिव अधिवक्ता लिलामणि पौडेलले बताए ।

बारले विरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार इकाइका कानुन व्यवसायी लगायत सम्पूर्ण कानुन व्यवसायीहरुलाई अनुरोध गर्ने र कार्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

त्यसैगरी न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयको बारेमा ९० वटै बार इकाइहरुमा परिपत्र गर्ने र बारको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने, ९० वटै बार इकाइका अध्यक्ष र सचिवसँग भर्चुअल माध्यमबाट छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णय गरिएको पनि महासचिव पौडेलले बताए ।

उनले यति विरोधका कार्यक्रम गर्दापनि प्रधानन्यायाधीश जबराको राजीनामा नआएमा विरोधका थप कार्यक्रमहरु घोषणा गर्ने बताए । प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्न नसकेको, मन्त्रिपरिषद्मा र संवैधानिक आयोगहरुमा भाग खोजेको र न्यायालयमा प्रत्यक्ष राजनीतिक हस्तक्षप भएका कारण नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिनुपरेको बारका महासचिव लिलामणि पौडेलले बताए ।

प्रतिक्रिया