एमाले महाधिवेशनमा १,९९९ प्रतिनिधि सहभागी हुने

नेपालखोज २०७८ कार्तिक १२ गते १८:५४

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या १ हजार ९ सय ९९ पुर्‍याउने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार बसेको पार्टी केन्द्रिय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएर १ हजार ९ सय ९९ पुर्‍याउने निर्णय गरेको हो ।

पार्टीका केन्द्रिय सदस्यहरुले प्रतिनिधिसंख्या बढाउने प्रस्ताव गरेपछि करिव ४ सय थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । बैठकले आगामी कार्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयनका लागि निर्वाचन गर्ने कार्यक्रम पनि तय गरेको छ । त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा २ सदस्य थप गरेर २३ सदस्य पुर्‍याउने निर्णय पनि गरेको छ ।

पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताए । एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । सो मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो ।

बैठकले पार्टीको अर्काे केन्द्रिय कमिटीको बैठक आगामी मंसीर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई आह्वान गरे ।

उनले बाँकी रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरुलाई सचेत गराएको पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया