ओली भन्छन्- राजनीतिभन्दा संगीतले मानिसमा जागरण ल्याउँछ

काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिले भन्दा संगीतले मानिसलाई जागरण बढाउन सजिलो हुने बताएका छन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शार्दुल अंक-४ र गीति एल्वम ‘समृद्ध नेपाल र सुखी नेपाली’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक कुराले भन्दा संगीतले समाज र मानिसलाई बदल्न सजिलो हुने बताए।
‘संगीतमा समाज र मानिसलाई बदल्ने शक्ति रहेको छ’, उनले भने, ‘गीतबाट सामाजिक जागरण र अग्रगमनका लागि ठूलो काम गर्न सक्दछौँ ।’ जीवन र मानिसका लागि समस्यालाई छुने गीत गाउनुपर्ने उहाँको भनाइ थियो । ‘ऐना र तस्वीर मात्र होइन अगाडिको बाटो देखाउने खालको गीत गाउनुपर्दछ’, उनले भने, ‘जागरणका गीतले समाजलाई जुरुक्क उठाउँछ ।’
एमाले अध्यक्ष ओलीले देशभक्ति गीत एमालेको मात्र नभएर सबै नेपालीको रहेको बताए । उनले विकासका गीत गाउँदा समाजिक जागरण गराउने खालका हुनुपर्नेमा जोड दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको भाव झल्किने खालका जागरणका गीत हुनुपर्ने बताए । ओलीले जनताले देखाएको बाटोमा हिँड्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
‘अरुलाई चेतना दिने, बाटो देखाउने र उत्साही बनाउने खालको सिर्जना हुनुपर्दछ’, उनले भने, ‘मानवीय आवश्यकतातर्फ फर्किएको कला, साहित्य सिर्जना गर्नुपर्दछ ।’ उहाँले पूर्वजले छन्द, कलाकारिताका रङ, सङ्गीतको सुर, ताल पत्ता लगाएकाले आजको समयमा साहित्यलाई आवश्यकतानुसार सदुपयोग गर्न सकेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बाले गीतमा नेपालको राष्ट्रिय एकता, स्वाभिमान, अखण्डताको भाव झल्किएको बताए । उनले गीतमा कुन्ती मोक्तान, इन्द्र गुरुङ, कला राई, मिलन अमात्यलगायत १२ कलाकारले गीत गाएको जानकारी दिए ।
गीतकार श्याम टमोटले २०० गीतबाट १० वटा गीति एल्बममा समावेश गरिएको जानकारी दिए । कार्यक्रममा गीतका स्वर दिएका कालाकारलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया