चौबीस घण्टा पनि टिकेन राष्ट्र बैंकको निर्णय

नेपालखोज २०७८ कार्तिक १३ गते २०:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन चौबीस घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रबार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो ।

केन्द्रीय बैंकका कार्यकारी निर्देशक रामु पौडेलले आज अर्को एक सूचना जारी गर्दै शुक्रबार जारी भएको निर्देशन खारेज भएको जानकारी दिए । केन्द्रीय बैंकले केराउको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि लागि कुल ८० हजार मेट्रिकटन परिमाण ननाघ्ने गरी व्यवस्था गरिएको थियो ।

यस्तै, सुपारीको पैठारीमा लगाएको पूर्ण प्रतिबन्धलाई हटाई चालु आवका लागि २५ हजार मेट्रिकटन पैठारी गर्न सकिने भनेको थियो ।

छोकडाको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाई चालु आवका लागि ५० हजार मेट्रिकटन आयात गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख थियो । सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिइने राष्ट्र बैंकले जनाएको थियो ।

त्यस्तै, ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको जानकारी दिँदै बैंकले  सोहीअनुसार विदेशी मुद्राको सटही सुविधा दिने शुक्रबार जनाएको थियो ।

बीउविजन ऐन, २०४५ ले नेपालमा सूचीकृत एवं दर्ता भएका बीउविजनको मात्र बिक्री वितरण गर्न पाइने व्यवस्था गरेको छ । रासस

प्रतिक्रिया