चाबाहिलकाे तरकारी बजारमा विद्युतीय कारोबार

काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै विद्युतीय भुक्तानीको व्यवस्था मिलाइएको हो ।
यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । उनले यसले पारदर्शिताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरुलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पारे ।
कार्यक्रममा काठमाडौं महानगरपालिका ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले विद्युतीय कारोबारले खरिद-बिक्रीको कामलाई सजिलो बनाइदिएको पनि स्पष्ट पारे ।
यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन् । तरकारी किन्नका लागि सो बजारमा पुगेका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो बनाएको बताए ।
उनले पैसा हराउने झन्झट पनि नहुने भन्दै सो तरकारी बजारमा विद्युतीय कारोबारका लागि क्यूआर कोडको व्यवस्था गरिदिएकामा सनराइज बैंकलाई धन्यवाद दिए । त्यसैगरी अर्की ग्राहक सुवानी घिमिरेले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले आफूहरुलाई सहज बनाइदिएको बताइन् ।
सनराइज बैंकले हालसम्म १० हजारभन्दा बढी व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिसकेको छ । नगद कारोबारलाई सहज बनाउन आफूहरुले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

प्रतिक्रिया