पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।
आइतबार टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता गर्नुपर्ने बताए ।
उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको भन्दै तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीहरुलाई कालोमोसो दल्न पछि नपर्ने चेतावनी दिए ।
अध्यक्ष गजुरेलले नेपाल सरकार नेपाली जनताप्रति जवाफदेही नभएको आरोप लगाउँदै सरकारले जनताको पसिना लुटेर स्वार्थपूर्तिका लागि काम गरेको र सत्ता टिकाउन केन्द्रित भएको बताए ।
अध्यक्ष गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए ।
नेपाल आयल निगमले शुक्रबार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो । त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया