शनिबार, जेठ ५, २०८१

कतै मानसिक समस्या त भएन ? यसरी थाहा पाउन सकिन्छ !

‘यदि कोरोना संक्रमण भएर एक्लै कोही आइसोलेसनमा बसेको भए सकारात्मक सोच राख्नुपर्छ । योग, ध्यान गर्नुपर्छ ।

प्रनिशा अधिकारी २०७८ असार ८ गते ९:१४

काठमाडौं । कोरोना महामारीले अहिले सर्वसाधारणलाई धेरै समस्या सिर्जना गरेको छ । कोरोना संक्रमणको त्रासका कारण आफ्नो पेसा तथा व्यवसाय गुमाउनु पर्दा यसले धेरैलाई आर्थिकसँगै मानसिक समस्यासमेत सिर्जना गरेको छ ।

महामारीका कारण रोजगार तथा पेसा, व्यवसाय गुमाएर बस्नुपर्दा यो समय धेरैलाई मानसिक समस्या हुन सक्ने मानसिक रोग विशेषज्ञहरू बताउँछन् । वयस्क र बालबालिका दुवैलाई हुनसक्ने भन्दै मानसिक समस्या हुनबाट बच्न, सचेत रहन तर भइहाले नआत्तिन मानसिक रोग विशेषज्ञहरूको आग्रह छ ।

मानसिक समस्या भएको कसरी थाहा पाउने ?
मानसिक रोग विशेषज्ञ डा. रितेश थापा आफूलाई मासिनक समस्या भएको महसुस व्यक्ति स्वयंलाई कम हुने भएकाले यसमा ध्यान दिनुपर्ने बताउँछन् । निद्रा नलाग्ने, खाना खान मन नलाग्ने, रिस उठ्ने, चिडचिढापन भएको खण्डमा मानसिक रोगको लक्षण भएको उनी बताउँछन् । ‘रोगसँग सम्बन्धित विभिन्न कुरा मनमा खेल्ने, आत्तिने, डराउने, चिन्ता लाग्ने, अन्योल महसुस हुने भयो भने यो मानसिक रोगको संकेत हो,’ डा. थापा भन्छन्, ‘यो सबैजसो व्यक्तिमा हुन सक्छ, तर यत्ति भयो भन्दैमा आत्तिनु भने हुँदैन ।’

तर, यो समस्या लामो समयसम्म रह्यो र थप बढ्दै गएर निराशापन आउने, आत्महत्या गर्न मनलाग्ने, दैनिक गर्दै आएका काम गर्न मन नलाग्ने, अरुसँग गरिने व्यवाहारमा परिवर्तन आउन थाल्यो भने मानसिक रोग लागेको बुझ्नुपर्ने डा. थापा बताउँछन् ।

मानसिक समस्या भए के गर्ने ?
‘यी र यस्ता समस्या छन् भनेर आत्तिनु भने हुँदैन । यस्ता समस्याको समाधान तथा व्यवस्थापन गर्न सकिन्छ,’ उनी भन्छन्, ‘यदि कोरोना संक्रमण भएर एक्लै कोही आइसोलेसनमा बसेको भए सकारात्मक सोच राख्नुपर्छ । योग, ध्यान तथा लामो श्वास लिनुपर्छ ।’

यस्तो अवस्थामा सकारात्मक सोच राखेर सकेसम्म आफूलाई व्यस्त राख्नुपर्ने डा. थापाको सुझाव छ । आफूलाई मनपर्ने, खुसी बनाउने तथा रमाइलो लाग्ने कुराहरू गर्नुपर्नेमा उनको जोड छ ।
यदि, मानसिक समस्या भएको खण्डमा पनि यसको उपचार हुने भन्दै उनी नआत्तिन आग्रह गर्छन् । कोरोना संक्रमण भएका ९० वर्षमाथिका वृद्धवृद्धा तथा बालबालिका पनि निको भएकाले नआत्तिन तर मनोबल उच्च पार्न उनी सुझाव दिन्छन् । मानसिक समस्या भइहालेको खण्डमा स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको टेलिफोन नम्बरमा फोन गरेर परामर्श लिन सकिन्छ ।

बच्चामा मानसिक तनाव कसरी थाहा पाउने ?
मनोरोग विशेषज्ञ डा. केदार मरहठ्ठा बालबालिकामा देखिने मनोरोग तथा मानसिक तनाव वयस्क व्यक्तिमा भन्दा फरक हुने बताउँछन् । बच्चाहरू धेरै रुने तथा कराउने, रिसाइरहने, बाबाआमालाई छोड्न नखोज्ने लक्षण देखिएमा उनीहरूमा मानसिक तनाव रहेको बुझ्नुपर्ने मनोरोग विशेषज्ञ डा. मरहठ्ठा बताउँछन् ।

‘दिशा-पिसाब कन्ट्रोल भइसकेका बालबालिका मानसिक तनाव भएको अवस्थामा फेरि ओछ्यानमै दिशा-पिसाब गर्न थाल्न सक्छन्,’ डा. मरहठ्ठा भन्छन्, ‘यदि यी र यस्ता समस्या आफ्ना बच्चाहरूमा देखिएको अवस्थाका बाबाआमाले मायाले सहयोग गर्नुपर्छ ।’

बच्चामा मानसिक समस्या देखिएको खण्डमा अथवा त्यसको शंका लागेमा अभिभावकले विशेष ख्याल राख्ने, उनीहरूलाई मन लागेको खेल खेल्न दिने, आफू पनि बच्चासँगै खेल्ने तथा सकेसम्म धेरै समय बच्चासँगै समय बिताउनुपर्ने डाक्टरहरूको भनाइ छ । डरलाग्दा दृश्य तथा सामग्रीहरू मोबाइल तथा टेलिभिजनमा हेर्न दिन नहुने उनीहरू बताउँछन् । चिकित्सकको परामर्शमा उनीहरूलाई उपचार गर्न सकिने भएकाले निरन्तर डाक्टरको सम्पर्कमा रहन पनि उनीहरूको सुझाव छ ।

कोरोना संक्रमण र यसका कारण मृत्यु भएका दृश्यहरू इन्टरनेटमा धेरै समय बिताउने बालबालिकाले देख्ने भएकाले सकेसम्म यस्ता सामग्रीहरूबाट आफ्ना बच्चालाई टाढा राख्न डा. थापाको सुझाव छ । सकेसम्म सामाजिक सन्जालबाट टाढा राखेर उनीहरूलाई मन पर्ने खेल, दृश्य तथा कथाहरू देखाउनुपर्नेमा उनको जोड छ । कोरोना संक्रमणका कारण आफन्त तथा चिनेजानेकाहरूको मृत्यु हुने गरेका कारण कतिपयमा मानसिक तनाव देखिने गरेका कारण आफूलाई व्यस्त राख्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

प्रनिशा अधिकारी

अधिकारी नेपालखोजका संवाददाता हुन् ।

प्रतिक्रिया