‘न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत’

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएर राष्ट्रकै बेइज्जत गरेको टिप्पणी समेत गरे ।
‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आईतबार काठमाडौंमा एक कार्यक्रममा बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नु पर्दैैन ? भनेर सरकारलाई प्रश्न गरेका छन् । कानुनमन्त्री सो समस्या समाधान गर्न सक्दैनन भन्दै पूर्व राष्ट्रपति यादवले न्यायलय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्याएको आरोप लगाए ।
उनले सारा न्यायाधिशहरु, नेपाल बार, कानुनविद्हरु एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरुमाथि प्रश्न समेत तेस्र्याए ।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । यादवले संविधानको कार्यान्वयन गर्न दलहरु गम्भिर नभएकोमा चिन्ता समेत व्यक्त गरे ।

प्रतिक्रिया