‘सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौं षडयन्त्रहरु भइरहेको छ’

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन् । सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले दसैं, तिहार छठ तथा नेपाल सम्वत् ११४२ को अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सत्तारुढ गठबन्धन तोड्नका लागि अनेकौँ षडयन्त्रहरु भइरहेको बताएका छन् ।
गठबन्धनलाई भत्काएर प्रतिक्रियावादी गठबन्धन बनाउने कसरत भएको उनले बताए । गठबन्धनभित्र वैचारिक र राजनीतिक रुपले कमजोर पात्रलाई प्रयोग गर्नका लागि खोजि भइरहेको पनि उनले जिकिर गरे ।
अध्यक्ष प्रचण्डले तिनै तहको निर्वाचन एकैपटक गर्न सकिन्छ कि भनेर छलफल चलिरहेको बताए । तिनै तहको चुनाव एकैपटक गर्न सके चलखेल र षड्यन्त्र हुन नपाउने भन्दै उनले राज्यलाई आर्थिक बोझ पनि कम हुने बताए ।
उनले पहिले संघको निर्वाचन गराएर मात्रै स्थानिय तहको निर्वाचन गर्ने विचारहरु पनि छलफलमा आएको जानकारी दिए । उनले भने ‘सकियो भने सबभन्दा राम्रो राज्यलाई कम भार पर्ने, जनतालाई कम दुःख हुने भनेको तिनै तहको निर्वाचन एकैचोटी गर्ने । प्रदेश अनुसार चरण चरण गरेर गर्ने तिन चरण । गन्ने काउन्टीङ चाहिँ एकैचोटी गर्ने गर्यो भने त्यो धेरै चलखेल, षड्यन्त्रपनि हुन नपाउने, धेरै आर्थिक बोझ पनि राज्यको कम हुने, राजनीतिक दलहरुलाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार छ ।
अर्को, तिनवटैको गर्दा प्राविधिक गाह्रो पर्छ कि भन्ने तर्क छ र पहिला संघको निर्वाचन गर्ने अनि त्यसपछि स्थानीय तहको गर्ने कि भन्ने बिचार पनि छ । यी दुईवटा विचारको बीचमा छलफल चलिराखेको छ ।’
उनले विगतका सरकारले रोकेका सबै विधेयकहरु पारित गराउनेतर्फ वर्तमान सरकार लागि परेको पनि बताए । निजामती ऐन, प्रहरी ऐन लगायतका ऐनलाई छिटोभन्दा छिटो अगाडि बढाउने उनले बताए । समितिबाट पारित भएका अन्य सबै विधेयकहरुलाई सरकारले अगाडि बढाउने उनले स्पष्ट पारे ।
अध्यक्ष प्रचण्डले अनेक खालको षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सबै चनाखो भएर बस्नुपर्ने बताए ।

प्रतिक्रिया