शुक्रबार, चैत १६, २०८०

जान पाउलान् त कामदार कोरिया ?

‘अवस्था सामान्य बन्दै गए कामदार पठाउने प्रक्रिया अघि बढ्छ’

नेपालखोज २०७८ कार्तिक १६ गते ८:४६

काठमाडौं । सन् २००७ मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणालीमार्फत सरकारी तवरबाट कामदार पठाउने भन्ने सहमति भयो । त्यसै सहमतिअनुसार अहिलेसम्म कोरियामा नेपाली कामदार गइरहेको अवस्था थियो । तर कोरोना भाइरसको संक्रमण फैलिएर करिब २० महिनादेखि कामदार जान पाएका थिएनन् । कामदार जान नपाउनुको मुख्य कारण नै कोभिड हो ।पछिल्लो समय नेपालमा र कोरियामा पनि कोभिड संक्रमणको अवस्था सामान्य हुँदै गएपछि पुनः अहिले सुरुको चरणमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर) (कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्केका र फेरि जुन रोजगार दाताकोमा काम गर्थे) त्यही रोजगार दाताकोमा जानेलाई पठाउन थालिएको छ । उनीहरू नयाँ होइनन् । एकपटक कोरिया गएर आएर फेरि त्यही काममा जाने कामदारहरू हुन् । पहिलो चरणमा १२० कामदार लिन्छौ भनेर कोरियाले लिस्ट पठायो । त्यो सँगसँगै उसले त्यहाँ जान अपनाउनुपर्ने मापदण्डहरू पनि पठाएको थियो ।

उक्त मापदण्डमा काठमाडौंदेखि कोरियासम्म सीधा फ्लाइटमा मात्रै लिन्छौं भनिएका छ । अहिले काठमाडौंबाट कोरियन एयरलाइन्सले सीधा फ्लाइट सञ्चालन गरिरहेको छ । अहिले कामदारहरूले आफैं टिकटको व्यवस्थापन गरेर गइरहेका छन् । यस्तै पाँच हजार यूएस डलरबराबरको कोभिड जोखिम बिमा गर्नुपर्ने पनि भनिएको थियो । अर्को कुरा कोरिया गएका कामदारले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने मापदण्ड तोकिएको छ । १४ दिनको क्वारेन्टिन बसेपछि परीक्षण गर्दा कोभिड संक्रमण देखिएन भने मात्रै कामदारले काम गर्न पाउने सर्त छ ।

अहिले पहिलो चरणमा कात्तिक १० गते ४८ जना कामदारलाई पठाइएको छ । उनीहरू सकुशल त्यहाँ पुगेका छन् र पीसीआर परीक्षण गर्दा अहिलेसम्म सबैजनाको रिपोर्ट नेगेटिभ नै आएको छ । त्यो एउटा राम्रो कुरा हो नेपालका लागि । संजोगले एकजनामा मात्रै पनि कोभिड संक्रमण पोजेटिभ आइदिएको भए यो अवस्था पनि हुन्थेन । तर सबैजनाले सावधानी अपनाएको हुनाले हालसम्म सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

अहिलेसम्मको सूचनाअनुसार अब नोभेम्बको २४ तारिख अर्को फ्लाइटबाट बाँकी कामदार लिने कुरा भएको छ । पछिल्लो समय कोरिया रोजगारीका लागि जाने युवाहरूको पहिलो रोजाइमा पर्ने गरेको छ । आकर्षक तलब अनि थोरै खर्चमा पनि जान सकिने भएकाले कोरिया जान युवाहरू आकर्षित हुँदै गएका छन् । तर कोरोना संक्रमण फैलिएपछि ईपीएस भाषा पास गरी बसेका धेरै युवा विगत दुई वर्षदेखि अन्योलमा परेका थिए । त्यस्तै कोरोना संक्रमण फैलिएपछि विगत दुई वर्षदेखि ईपीएस भाषा परीक्षा पनि हुन सकेको छैन ।

भाषा परीक्षा नहुँदा कोरिया जान तयारी गरिरहेका युवाहरू पनि के गर्ने भन्नेमा अन्योलमा परेका थिए । तर अब भने कोरिया र नेपाल दुवै देशमा कोरोना संक्रमणदर कम हुँदै गएकाले कामदार पठाउने प्रक्रिया नियमित भएको छ । यसले युवाहरूमा फेरि आशाको किरण जागेको छ । नेपालमा ईपीएस भाषा परीक्षा पास गरी बसेका युवाको संख्या सात हजार छ । तीन हजारको संख्यामा कमिटेड वर्करहरू छन् । बाँकी मोटामोटी सात हजारको संख्यामा भाषा परीक्षा पास गरी बसेका युवाहरू छन् ।

यसरी नै अवस्था सामान्य हुँदै जाने हो भने नयाँ कामदारहरू जाने बाटो पनि खुल्दै जानेछ । कोभिडले अवस्था सामान्य भयो भने सबै सामान्य हुँदै जानेछ । कोरियाली सरकार पनि नेपाली कामदार लैजान हालसम्म सकारात्मक छ ।

भाषा परीक्षा पनि कोभिड संक्रमणकै कारण हुन सकेको छैन । अब कोभिड संक्रमण बढेन र यो दर अझ घट्दै गयो भने परीक्षा लिने तयारीका विषयमा छलफलका अगाडि बढेको छ । संक्रमणदर घट्दै गएर स्कुल कजेलहरू पनि खुल्दै गइरहेको समयमा भाषा परीक्षा पनि लिनुपर्छ भन्ने विषयको चर्चा त छ तर मिति भने तोकिएको छैन ।

(ईपीएस कोरिया शाखाका निर्देशक सुरेश रावतसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया