मंगलबार, असार १७, २०८२

‘खोप वितरण समान नहुँदा नागरिकले ज्यान गुमाउनुपर्‍यो’

नेपालखोज २०७८ कार्तिक १६ गते १३:५५


संयुक्त राष्ट्रसंघ । विश्वमा कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ५० लाख नाघेको बताइएको छ । गएको करिब दुई वर्षयता यो भाइरसको प्रकोप सुरु भएको थियो ।

त्यसैले यस्तो अवस्थामा विश्वका नागरिकलाई यस भाइरसका विरुद्धको खोप सहज र सुलभ रुपमा उपलब्ध हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले कोरोना भाइरसविरुद्धको खोप वितरण समान नहुँदा संसारका नागरिकले ज्यान गुमाउनुपरेको बताएका छन् ।

उनले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकाले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिए ।

महासचिव गुटेर्रेसले हाल विश्वमा कोरोना भाइरसका विरुद्धको खोप उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुलाई विशेषगरी खोपको समानतामा काम गर्न आग्रह गरे ।

उनले अहिले पनि खोपको वितरण त भइरहेको छ र विश्वका सबैजसो देशमा यो पुगेको छ भन्दै तर पनि नागरिकलाई समान रुपमा भने वितरण गरिएको छैन, त्यसैले अहिलेको प्रयासलाई अरु धेरै बढाउनुपर्ने अवस्था भएको बताए ।

अहिले यो खोप धनी देश र मध्यमबर्गीय देशहरुमा पुगेको तर पनि गरिब तथा तेस्रो विश्वमा पुग्न नसकेको बताए । यस्तो अवस्थामा विश्वलाई नै कोरोना भाइरसको महामारीबाट बचाउन र त्यसका लागि विश्वका सबै देशका नागरिकमा खोप उपलब्ध गराउन उनले आग्रह गरे ।

यो महामारीबाट विश्वका पचास लाखभन्दा बढी नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था दुःखद भएको भन्दै अहिले पनि मानव जातिसँग यो महामारीका विरुद्धमा लड्ने एक प्रभावकारी उपाय खोपमात्र रहेकोतर्फ सबैले बुझ्नुपर्ने उनले बताए । रासस\सिन्ह्वा

प्रतिक्रिया