सोमबार, वैशाख १५, २०८२

कुमारी बैंकले ६ प्रतिशत बोनस सेयर दिने

नेपालखोज २०७८ कार्तिक १६ गते १७:३७

काठमाडौं । कुमारी बैंक लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल कार्यालय, काठमाडौंमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/०७८को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि छ प्रतिशत बोनस सेयर तथा बोनश सेयरवापत लाग्ने कर प्रयोजनाको लागि समेतगरी दुई दसमलव ६७ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सो बोनस सेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार तीन सय २६ रुपैयाँ पुग्ने छ । आर्थिक वर्ष २०७७/७८ को आसार मसान्तसम्म बैंकले कुल निक्षेप एक खर्ब ५७ अर्ब १७ करोड परिचालन तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड प्रवाह गरी संचालन मुनाफा तीन अर्ब १९ करोड तथा एक अर्ब ९७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी १९६ शाखा संजाल, १७५ एटिएम्, १४ एक्स्टेन्सन काउन्टरका साथै ३३ वटा शाखारहित बैंकिङ्क इकाइमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया