कागलाई किन यमदूतका रुपमा मानिन्छ ?

काठमाडौं । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा खाने कुरा दिएर मनाइदै छ ।
काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मंगलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रूपमा तिहार मनाउने गर्छन् ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठा मीठा खान दिई खुशी पार्ने गरिएको उनले बताए । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिने क्रम आज साँझ पनि जारी रहन्छ ।
यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ । मंगलबार अपराह्नदेखि नै कात्तिक कृष्ण त्रयोदशी सुरु भएकाले आज बिहान पहिलो प्रहरमै कागलाई मीठा मीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । रासस

प्रतिक्रिया