पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्- राजनीतिक दलले जनतामाथि आफ्नो अधिपत्य जमाउन तर्साउँदै छन्

नेपालखोज २०७८ कार्तिक १७ गते १५:१९

काठमाडाैं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गरेका हुन् ।

उनले प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको बताए । राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दाखेरी आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उनले धारणा राखे ।

प्रजातन्त्र जनतालाई नभई केवल दलहरुलाई मात्रै आएको उनको भनाइ छ । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउदै हिडेको बताए ।

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उनले बताए । राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उनले बताए ।

उनले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने बताए । आर्थिक रुपमा सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने उनले उल्लेख गरे ।

देश विकासको लागि व्यक्ति तथा राज्यले बचत गर्ने बानिको विकास गर्नुपर्ने र फजुल खर्च गर्नु नहुनेमा ध्यानाकर्षण गराए । नेपालमा उपभोक्तावादी संस्कृतिका कारण अर्थतन्त्र दरिलो हुन नसकेको भन्दै उपभोक्तावादी संस्कार त्याग्नुपर्ने बताए ।

उनले एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई विवेक नभएको मान्छे भनेको तर्फ इंकित गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफ्नो विवेक बारे आफूले दाबी नगर्ने बताए । आफूले गरेका निर्णयहरुमा कति विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको भन्दै जनताले नै निर्णय गर्न सक्ने बताए ।

प्रतिक्रिया