चाडपर्वसँग जोडिएका परम्परा र अभ्यासलाई जगेर्ना गर्नुपर्छ : राष्ट्रपति

नेपालखोज २०७८ कार्तिक १८ गते ९:४३


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारले नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएकी छन्।

बिहीबार (आज) तिहारको अवसरमा शुभकामना दिँदै उनले चाडपर्वसँग जोडिएका राम्रा परम्परा र अभ्यासलाई जगेर्ना गर्नुपर्ने बताइन्।

‘ राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘देउसी–भैलोको दक्षिणाबाट संकलित रकमबाट विद्यालय, चौतारा, धारा, पाटी‚पौवाको निर्माण तथा मर्मत सम्भार जस्ता सामुदायिक हितका रचनात्मक कार्य गर्ने असल परम्परा समेत तिहार पर्वसँग जोडिएका छन्। हाम्रा चाडपर्वहरूसँग जोडिएका यस प्रकारका राम्रा परम्परा र अभ्यासलाई हामीले जगेर्ना गर्नु पर्दछ भन्ने मलाई लाग्दछ।’

राष्ट्रपति भण्डारीले दिपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गरेकी छन्।

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸मानव जीवन र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउने बताएकी छन् ।

प्रतिक्रिया