नेपाल संवतले नेपालीलाई कोरोनामुक्त बनाउछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको अवसर पारेर सम्पूर्ण नेपालीहरुको शान्ति, उन्नति र प्रगतिको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले नेपाल संवतले नेपाललाई कोरोनामुक्त बनाउने विश्वास समेत व्यक्त गरे । उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको मानव सेवाप्रतिको भावनालाई उच्च सम्मान गर्दै उनको योगदानको कदर गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपाल संवत ११४२ को अवसर पारेर शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित सांस्कृतिक र्यालीमा बोल्दै उनले नेपालको गरीबी निर्मूल गर्ने अभियान सुरुवात गर्नु भएका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको प्रचारप्रसार गरी सबै मानवको हितलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाली माटोमा जन्मेको नेपाल संवत नेपालको राष्ट्रिय सम्मत भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रपतिदेखि आम नागरिक सबैले व्यवहारिक रुपमै स्विकार गर्दै गएको चर्चा गरे ।
उनले काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको उच्च मूल्यांकन गर्दै उनको नाममा पार्क समेत निर्माण गरेको स्मरण गराए ।
सांस्कृतिक र्यालीमा नेपाल संवतको महत्व उल्लेख गरिएका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया