शुक्रबार, वैशाख ७, २०८१

नेटोमा आवद्ध हुने स्वीडेन र फिनल्यान्डको निर्णयप्रति कसको समर्थन, कसको विरोध

नेपालखोज २०७९ जेठ ६ गते ९:२१

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यता लिने स्वीडेन र फिनल्यान्डको ऐतिहासिक निर्णयप्रति अमेरिकाको ‘पूर्ण समर्थन’ रहने बताएका छन् ।

दुवै देशले प्रतिरक्षा साझेदारीको एउटा हिस्साका रूपमा यसै साता नेटोको सदस्यताका लागि आवेदन दिएका छन् । दुई देशको पछिल्लो कदमलाई युरोपेली भूराजनीतिमा ठूलो परिवर्तनको रूपमा हेरिँदैछ ।

तर उनीहरूको यो कदमको टर्कीले विरोध गरेको छ। स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुहरूलाई सघाउने गरेको टर्कीको आरोप छ ।

यद्यपि फिनल्यान्डका राष्ट्रपतिले आफ्नो मुलुक आतङ्कवादलाई लिएर गम्भीर रहेको र टर्कीको सुरक्षा चासोप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

नेटोलाई राष्ट्रिय सुरक्षाका लागि खतराको रूपमा लिँदै आएको रुसले त्यसको विस्तारलाई लिएर ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । नेटोको सदस्यता पाउन स्वीडेन र फिनल्यान्डलाई त्यसका सबै ३० सदस्य राष्ट्रको समर्थन चाहिन्छ ।

बाइडनले स्वीडेन र फिनल्यान्डले नेटोको सदस्यता पाएपछि सुरक्षा अवस्था सुदृढ हुने र त्यसले विश्वभरि सुरक्षा सहकार्य बढाउने विश्वास व्यक्त गरेका छन् । उनले भनेः ‘म स्पष्ट पार्न चाहन्छु किन नेटोमा नयाँ सदस्यहरू जोडिँदा कुनै देशलाई खतरा हुनेछैन ।’

‘नेटोको उद्देश्य भनेको आक्रमणविरुद्ध प्रतिरक्षा गर्नु हो । यो ऐतिहासिक दिनमा कसैबाट गल्ती हुन नदिऊँ ।’

युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर आफ्नो सुरक्षाप्रति बढ्दो चासोबीच स्वीडेन र फिनल्यान्डले दशकौँदेखिको तटस्थता त्याग्दै नेटोमा आबद्ध हुन लागेका हुन् । फिनल्यान्डको हकमा कुरा गर्नुपर्दा उसको १,३०० किलोमिटर सिमाना रुससँग जोडिएको छ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआन चाहिँ नेटोको सदस्यता लिने दुई देशको निर्णको विपक्षमा उभिएका छन् । बीबीसी

प्रतिक्रिया