सोमबार, वैशाख १५, २०८२

रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट

नेपालखोज २०७८ कार्तिक १९ गते १८:५७

रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । रोल्पा अस्पतालमा आज आयोजित एक कर्यक्रममा उक्त अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो ।

संघीय सरकारको ७५ लाख रूपैयाँ बजेटबाट जडान गरिएको उक्त प्लान्टले दैनिक २५ भन्दाबढी सिलिन्डर उत्पादन गर्नसक्ने क्षमता रहेको छ ।

जिल्लामा खपत भएर बचेको अक्सिजन जिल्ला बाहिर निर्यात गर्न सकिने बताइएको छ । अक्सिजन प्लान्ट जडानसँगै रोल्पाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको मुख्यमन्त्री केसीले बताए । ‘अब अक्सिजनको अभावमा रोल्पालीले ज्यान गुमाउन पर्ने छैन’, मुख्यमन्त्री केसीले भने ।

जिल्लाको स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले उपलब्ध गराएका दरबन्दीलाई निरन्तरता दिइने मुख्यमन्त्री केसीको भनाइ छ । स्वास्थ्य सेवामा पछाडि परेको रोल्पामा अन्य सेवा पनि निरन्तर थप गर्न पहल गर्ने उनले बताए ।

मुख्यमन्त्री केसीले आजै सीता महरा स्मृति पार्ककोसमेत उद्घाटन गरे । पूर्वसभामुख कृष्णबहादुर महराको पत्नी सीताको स्मृतिमा रोल्पा नगरपालिका–१ मेवाङमा उक्त पार्क बनाइएको हो ।

पार्क उद्घाटन कार्यक्रममा मुख्यमन्त्री केसीले सीताले बालबच्चा बोकेर जनयुद्धमा सहभागी भएको स्मरण गर्नुभयो । तत्कालीन राज्यसत्ताले घरमा बस्न नदिएपछि महराको सपरिवार जनयुद्धमा सहभागी भएको थियो ।

सीता महराको अघिल्लो वर्ष निधन भएको थियो । सीता महरा स्मृति फाउण्डेशनद्वारा आयोजित पार्क उद्घाटन कार्यक्रमको सभापतित्व सीताका पतिसमेत रहेका पूर्वसभामुख महराले गर्नुभएको थियो । उक्त पार्क सङ्घीय सरकारको ३० लाख रूपैयाँ बजेटमा निर्माण गरिएको हो । रासस

प्रतिक्रिया