शनिबार, जेठ ४, २०८२

बढ्दै छ किशोर-किशोरीमा मस्तिष्क रोग, यसरी गरौं ख्याल

मीना साउँद २०७८ कार्तिक २० गते ११:५८

मस्तिष्क रोग लागेपछि बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहारलगायत सबैमा परिवर्तन आउन थाल्छ ।

काठमाडौं । मानसिक समस्या यतिबेला धेरैको साझा समस्या भएको छ । मानसिक समस्याले नेपाललगायत विश्वका धेरै देशमा विकराल रूप लिन थालेको छ । कोभिड संक्रमणपछि यो समस्या थप विकराल बन्दै गएको हो । मानसिक समस्या भन्नाले हामी सामान्य बोलीचालीको भाषामा मनको रोग भनेर बुझ्छौं । मानसिक रोग उमेर वा त्यो उमेर, यो राष्ट्रका वा त्यो राष्ट्रका भन्ने केही पनि हुँदैन । यो जुनसुकै उमर समूहका र जुनसुकै मुलुकका मानिसलाई पनि हुन सक्छ ।

बढ्दो सहरीकरण, उच्च प्रविधिको प्रयोग, अति व्यस्त जीवनशैलीका कारण पछिल्लो समय मनोरोगीहरू अत्यधिक बढी छन् । मानसिक रोग लागेपछि व्यक्तिको व्यवहारमा परिवर्तन आउन थाल्छ । यो रोग लागेपछि व्यक्तिको बोलीवचन, आभाष, स्मरण, चेतना व्यवहारलगायत सबैमा परिवर्तन आउन थाल्छ । यस्तै गडबड भएको ज्ञान मान्छेमा हुँदैन, र यो रोगलाई उनीहरूले धेरै रहस्यमय रूपमा लिइरहेका हुन्छन् ।

सधैं चिन्ताग्रस्त हुनु, ध्यान एकाग्र गर्न नसक्नु, मन शान्त नहुनु, नियन्त्रण गर्न नसक्नु, निद्रामा गडबडी हुनु, मन कहिले उदास त कहिले उन्मादिलो हुनु, दैनिकी बिथोलिएर अप्ठ्यारो अवस्था आउनु, लामो समयदेखि दिक्दारी महसुस हुनु, बिनाकारण डर लाग्नु, आपूmमात्र ठीक अरू सबै बेठीक भन्ने लाग्नुजस्ता कारण देखिएमा मानसिक समस्याका लक्षण हुन सक्छ । मनोविद् डा. करुणा कुँवरका अनुसार मनोरोग दुई किसिमका हुन्छन्, सामान्य र कडा ।

मानिसको शरीरका विभिन्न अंगले छुट्टाछुट्टै काम गर्छन् । शरीरका अंगमध्ये मस्तिष्क महत्त्वपूर्ण भाग हो । मस्तिष्क हाम्रो टाउकोभित्र सुरक्षित हुन्छ । जसरी फोक्सोमा निमोनियाँ र टीबीजस्ता रोग लाग्छन्, कलेजोमा खराबी भएर कमलपित्त लाग्छ, त्यसैगरी, मस्तिष्कमा पनि विभिन्न रोग लाग्न सक्छ । त्यसरी लाग्ने रोगले मस्तिष्कमा मात्र असर पार्दैनन्, हाम्रो मन, विचार, भावना र वुद्धिमा पनि प्रतिकूल असर पार्छ । फलस्वरूप मानसिक रोग देखापर्छ ।

मानसिक रोगबाट पीडितले समाजका अरू मानिससँग राम्रो सम्बन्ध राख्न सक्दैन र भावी योजना र कार्यक्रम पनि सही रूपले तर्जुमा गर्न सक्दैन् । साथै ऊसँग सम्बन्धित वातावरण र उसको भित्री वा बाहिरी परिस्थितिको ठीक मूल्यांकन पनि गर्न सक्दैन । वैज्ञानिकले अरू रोगजस्तै मानसिक रोग पनि शरीरको एक केन्द्रीय स्नायु प्रणालीको खराबीबाट उत्पन्न हुने रोग हो भन्ने पत्ता लगाएका छन् । संसारभर जनसंख्याको लगभग १५ प्रतिशत मानिस साधारण वा कडा कुनै न कुनै मानसिक रोगबाट पीडित देखिन्छन् । अझ पछिल्लो समय किशोरकिशोरीहरू यसबाट बढी प्रभावित हुन थालेका छन् ।

मानसिक स्वास्थ्यको ख्याल कसरी गर्ने ?
विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरू कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथी छुट्दा, यसै त गाह्रो किशोरावस्थाको समयमा झनै अप्ठ्यारो थपिपएको हुनसक्छ । महामारीका बेलामा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह गर्न यी कुराहरू गर्नुपर्छ ।

१. महामारीको समयमा डर र चिन्ता सामान्य हो भन्ने बुझ्ने
महामारीले ल्याउने अन्योलपूर्ण वातावरणले चिन्ता र अत्यास लाग्नु सामान्य कुरा हो । यस्तो बेलामा डर र चिन्ता कम गर्न गलत र भ्रामक सूचनाहरूबाट बच्नु पर्छ । भरपर्दो र विश्वासिलो माध्यमबाट मात्रै सूचना र जानकारी लिनु पर्छ । अप्रिय घटनाहरूबारे धेरै पढ्ने वा धेरै हेर्ने गर्नु हुँदैन ।

२. आफूलाई व्यस्त राख्ने
होमवर्क गर्ने, टीभी हेर्ने, नयाँ किताब पढ्ने, चित्र कोर्ने वा नयाँ सीप सिक्नेजस्ता काम गरेर आफूलाई व्यस्त राख्ने गर्नुपर्छ । यसरी आफूलाई रमाइलो लाग्ने काम गर्नाले डर वा चिन्ता पनि लाग्दैन र नयाँ कुरा पनि सिक्न सकिन्छ ।

३. साथीसँग घुलमिल हुने नयाँ उपाय खोज्ने
साथीहरूसँग सम्पर्कमा रहिरहन सिर्जनशील उपाय सोच्नुपर्छ । इन्टरनेटमा सबैजना मिलेर गर्न सकिने सामूहिक क्रियाकलाप आयोजना गर्ने र सहभागिता जनाउनुपर्छ । आफ्नो परिवारका सदस्यहरूसँग पनि सिर्र्जनात्मक कार्यहरू गरेर समय बिताउनुपर्छ ।

४ दयालुु बन्ने
एक–अर्कालाई सहयोग गर्नुपर्छ । गाह्रो अप्ठ्यारोमा परेका साथीहरूलाई साथ र हौसला दिनुपर्छ । हिंसा वा दुव्र्यवहारमा कोही परेका छन् भने बाल हेल्पलाइन नम्बर १०९८ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्नुपर्छ ।

५ आफ्ना भावना साटासाट गर्ने
आफ्ना विश्वासिला र मनमिल्ने साथीभाई वा अभिभावकसँग आफ्नो भावना साटासाट गर्नाले मनकोे बोझ हलुका हुन्छ । यसले डर चिन्ता कम गर्न पनि सहयोग गर्छ । साथै उनीहरूको सुझाव र सहयोगले आफूलाई परेको समस्याको समाधान पनि निकाल्न सकिन्छ ।

प्रतिक्रिया