शुक्रबार, वैशाख २१, २०८१

दुई अति विशिष्ट अविवाहितकाे संवाद

खिलध्वज थापा २०७८ कार्तिक २० गते १०:३३

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नारायणहिटी राजदरबारबाट निस्केर फटाफट आफ्नो गाडीतर्फ के बढ्दै थिए, युवराज दीपेन्द्र बिनाकुनै प्रयोजन पोर्टीकोमा ठिंग उभिइरहेको देखे । उनका दुवै कर स्वाभाविक रुपमा आपसमा जोडिए । करबद्ध अवस्थामै उनी दीपेन्द्रतर्फ मुखातिब भए । ओठमा विशिष्ट शैलीको मुस्कान छर्दै उनले भने, सरकार, हामीलाई छिटै एउटा नवयुवराज चाहियो ।

युवराज दीपेन्द्रको बिहे हुने चर्चा जनसाधारणमा निकै चलेको थियो । त्यसैलाई तारो बनाउँदै प्रधानमन्त्री युवराजसँग जिस्किन खोजेका थिए । कुरो बुझेर दीपेन्द्रले किचित लजाए जस्तो गर्दै भने, पहिले प्रधानमन्त्रीको बिहे हुनुपर्‍यो।

हाम्रो त उमेर छँदैछ नि । यसोभन्दा युवराज करबद्ध थिए । उनले भट्टराईको प्रौढ अवस्थातर्फ इंगित गरेका थिए । उनी पनि मुस्कुराइरहेका थिए ।

लेखक : खिलध्वज थापा

मेरा त धेरै उत्तराधिकारीहरु छन् । देशलाई सरकारको पो उत्तराधिकारी चाहिएको छ, भट्टराई मन्द आवाजमा शिष्टतापूर्वक हाँसे । उनले थपे, सरकारको तर्फबाट हामी ढुक्क हुन पाउँ ।

दीपेन्द्रले हात जोडेकै अवस्थामा टाउको निहुराए । भट्टराईले थपे, एउटा युवराजको पनि बिहे गराउन नसक्ने प्रधानमन्त्री भनेर मलाई जनताले भन्लान् ।

फेरि आश्वासनको लवजमा उनले भने, सरकारको बिहेपछि मेरो बिहे पक्का । दीपेन्द्रको प्रतिक्रिया नपर्खेर उनी सरासर आफ्नो गाडीतर्फ लम्के । ती दुवै प्राणी अविवाहित अवस्थानै कालकवलित भए ।

पत्रकार खिलध्वज थापाकाे प्रकाशोन्मुख पुस्तक एक पत्रकारको बकपत्रबाट ।

प्रतिक्रिया