फाइजरको गोली कोरोनाविरुद्ध ८९ प्रतिशत प्रभावकारी

काठमाडौं । औषधि निर्माता अमेरिकी कम्पनी फाइजरले आफ्नो नयाँ उत्पादन एन्टी कोभिड गोली ८९ प्रतिशत बिमारीलाई अस्पताल भर्ना हुन र मृत्यु रोक्न सक्षम भएको दाबी गरेको छ ।
फाइजर इंकले हिजो (शुक्रबार) भनेको छ- कोभिड-१९ को यो प्रायोगिक एन्टिभाइरल गोली (चक्की) ले बिरामीलाई अस्पताल भर्ना हुने स्थितिमा पुग्न तथा मृत्यु रोक्न लगभग ८९ प्रतिशतसम्म प्रभावकारी कार्य गर्छ । कम्पनीले यो चक्की (औषधि) लाई मान्यता प्रदान गर्न चाँडै अमेरिकी खाद्य एवं औषधि प्रशासनका साथै अन्तर्राष्ट्रिय नियामक निकायहरुसमक्ष अनुरोध गरिने कुरा पनि बताएको छ ।
कोभिड-१९ विरुद्धको गोली ठूलो उपलब्धि !
केही स्वतन्त्र विशेषज्ञहरुले यसको परिणामको आधारमा फाइजरको कोभिडविरुद्धको चक्कीको अध्ययन रोक्न सिफारिस गरेका थिए । यता फाइजरले भने आफ्नो कम्पनीले एफडीए आवेदन दिएपछि सम्बन्धित निकायहरुले एक सातादेखि महिना दिनभित्र यसमा निर्णय लिइसक्ने कुरा बताएको छ । अहिले संसारभरका शोधकर्ताहरु कोभिड-१९ विरुद्धको खाने गोली (चक्की) विकसित गर्ने होडमा छन । एन्टी कोभिड गोली बिमारीहरुको लक्षणहरु घटाउँदै लाने र बिमारीलाई चाँडै ठीक गर्ने काममा प्रभावी हुनुका साथै अस्पताल र डाक्टरहरुको बोझ कम गर्न पनि असरदार साबित हुने बताइएको छ । कोभिड-१९ विरुद्धको यो गोली खाएर बिरामीले आफ्नै घरमा स्वास्थ लाभ गर्न सक्ने बताइएको छ ।
फाइजरका कार्यकारी प्रमुख डा. मिकेल डोलस्टनका अनुसार यो भाइरल बिरामीमा प्रयोग हुने खाने गोली (चक्की) चिकित्सा क्षेत्रको ठूलो उपलब्धिमध्ये एक हो । यद्यपि अमेरिकी स्वास्थ्य अधिकारीहरुले कोभिडको संक्रमणबाट जोगिन खोप नै प्रभावकारी हुने बताउँदै आएका छन् । एन्टी कोभिड-१९ गोली कोरोना रोक्नभन्दा पनि कोरोना भइसकेपछि बिरामी ठीक गर्न प्रभावकारी हुनेछ भने यो उपयोग गर्न पनि सरल हुनेछ । कोरोनाविरुद्धको गोली (चक्की) यो संक्रमणको लहर रोक्न पनि महत्त्वपूर्ण साबित हुने विश्वास लिइएको छ ।
-प्रतीकात्मक तस्बिर
प्रतिक्रिया