सडकको अवस्थाले लुम्बिनीका पर्यटन व्यवसायी हैरानमा

काठमाडौं । कोरोना संक्रमणको जोखिम कम भए पनि लुम्बिनी क्षेत्रमा पर्यटकको आवागमन बढेकाे छैन । लुम्बिनी क्षेत्रसम्म पुग्ने सडक मार्गहरुमा मर्मत र विस्तारको काम चलिरहेकोले लुम्बिनी क्षेत्रमा आन्तरिक\बाह्य पर्यटकको आवागमनलाई सडकको अवस्थाले बिथोलेको हो । नारायणगढ हुँदै लुम्बिनी पुग्ने पूर्वपश्चिम राजमार्गको विस्तारको काम भइरहेको छ भने भैरहवा लुम्बिनी सडक खण्डको मर्मतसम्भार भइरहेको छ ।
सडकको अवस्थाले पर्यटकीय मौसममा पनि लुम्बिनी क्षेत्रका होटल पर्यटन व्यवसायीले लाभ लिन सकेका छैनन् । काठमाडौं बाहिरका धेरै पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो बढ्दा लुम्बिनी क्षेत्र सामान्यमै रहेको छ । लुम्बिनी होटल संघका महासचिव पुरुषोत्तम अर्यालले लुम्बिनी क्षेत्रको १५ प्रतिशत होटल मात्रै सञ्चालनमा आउन सकेको बताए ।
विगतमा दसैैँ र तिहारको बीचमा लुम्बिनी क्षेत्र घुम्न आउने पर्यटक धेरै भएर सेवा दिन भ्याइ नभ्याइ हुने गरेको तर यो वर्ष खासै पर्यटक नआएको महासचिव अर्यालले बताए ।
लुम्बिनीलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि सिधा जोड्दै छ र आन्तरिक पर्यटक पनि थपिँदै जाने निश्चित छ । यस्तो अवस्थामा अविलम्व सडक सुधार गर्नु पर्ने आवश्यक्ता रहेको व्यवसायीहरुले बताएका छन् ।
यसका साथै लुम्बिनीलाई कोरोना मुक्त क्षेत्र भनेर विश्वभर सन्देश दिनसके पर्यटक बढ्ने निश्चित छ ।
प्रतिक्रिया