सस्तो पेट्रोल लिन नेपाल आउँछन् भारतीय !

काठमाडौं । नेपालमै पनि पेट्रोल तथा डिजेलको बढ्दो मूल्यलाई लिएर विरोध भइरहेको छ । पछिल्लो समय पेट्रोल तथा डिजेलको मूल्य वृद्धिले सबैलाई मारमा पार्न थालेको छ । भारतमा पेट्रोल तथा डिजेलको मूल्यमा लगातार वृद्धि हुन थालेपछि बिहार र नेपालको सीमामा बस्ने भारतीयहरू भने पेट्रोल तथा डिजेलका लागि नेपाली बजारको भर पर्न थालेका छन् । खुला सीमानाको फाइदा उठाउँदै बिहार र नेपालको सीमानामा भएका उत्तर प्रदेशका अधिकांश गाउँका मानिस नेपाल आएर आफ्नो गाडीमा इन्धन भरिरहेका छन् । यसको मुख्य कारण नेपालमा भारतको तुलनामा पेट्रोल डिजेलको मूल्य कम हुनु हो ।
नेपालको वीरगञ्ज सीमासँग जोडिएको बिहारको रक्सौलमा पेट्रोलको मूल्य १०८ भारतीय रूपैयाँ तथा डिजेलको मूल्य करिब ९३ भारतीय रुपैयाँ प्रतिलिटर पर्छ । बिहारको मूल्यको तुलनामा नेपालमा पेट्रोल २५ रुपैयाँ भारु तथा डिजेल २१ रुपैयाँ भारु जति सस्तो पर्छ । मूल्यमा परेको यही फरकका कारण भारतीयहरू डिजेल पेट्रोलका लागि नेपाल आउछन् । यससँगै डिजेल पेट्रोल तस्करीसमेत बढेको छ ।
रक्सौलसँग जोडिएको नेपालको पर्सा जिल्लामा एक लिटर पेट्रोलको मूल्य प्रतिलिटर १३३ नेपाली रुपैयाँ छ जुन ८२ रुपैयाँ ६५ पैसा भारु जस्तो हुन आउँछ । यसैगरि डिजेलको मूल्य पर्सामा प्रतिलिटर करिब ११५ रुपैयाँ २५ पैसा छ जुन लगभग ७२ भारतीय रूपैयाँ पर्न आउँछ । नेपाल – बिहारको यो सीमावर्ती क्षेत्रमा भारत-नेपाल दुवै तर्फ नेरु र भारुको प्रयोग व्यापक मात्रामा हुन्छ । जसले गर्दा नेपाल आएर इन्धन भर्न भारतीयहरुलाई थप सहज भएको छ ।
प्रतिक्रिया