सर्वोच्च अदालतमा आज बन्दीप्रत्यक्षीकरणका मात्र मुद्दा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोकेका छन् ।
बन्दीप्रत्यक्षीकरणका ६ वटा इजलास पेसी तोकेका हुन् । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदी, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. मनोजकुमार शर्मा रहेका छन् ।
एकल इजालसमा न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश डा. कुमार चुँडाल रहेका छन् । सबै पेसीमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र रहेका छन् ।
यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए ।
सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि तोकिएको मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका थिए ।
अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन नसकेकाले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । रासस
प्रतिक्रिया