शनिबार, जेठ ४, २०८२

रोङ गाउँपालिका र कनकाई नगरपालिका क्वार्टरफाइनल प्रवेश

नेपालखोज २०७८ कार्तिक २२ गते २०:४१

काठमाडाैं । रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

रोङको जीतमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरे । तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काए । खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई चुनिइन् ।

समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको रोङले बुधबार कैलालीको गौरीगंगा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पराजयसँगै तुलसीपुरको यात्रा समाप्त भएको छ । तुलसीपुर समुह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो ।

छनोट खेल अन्तर्गत आजै सम्पन्न अर्को खेलमा कनकाइ नगरपालिका झापाले सुनकोशी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

पेनाल्टी सुटआउटमा कनकाइले सुनकोशीलाई ३–१ गोलले हराएको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

जित निकालेको कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन । प्रतियोगितामा भोली पनि दुई खेल हुनेछन् ।

प्रतिक्रिया