मिथिलाञ्चलमा मनाइने सामा चकेवा पर्व के हो ?

धनुषा। मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यसपर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औं दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ ।
दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् ।
आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन् ।
सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ । रङ्गिसकेको सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।
समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारीले यसरी गीत गाउने गर्दछन्–
‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिए, चम्पा फूल लगाइ दिए
सामचको सामचको ऐहा हो,
ऐहा हो,
गुँढ खेतमे भसिया हो’
(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाइदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु)
दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइका दीर्घायुको कामना गर्ने गर्दछन् । एघारौँ दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।
संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवन्त रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको यो पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउछन् ।
उनका अनुसार दाजुभाइ, दिदीबहिनीको प्रेमको मुख्य आधार भएको यो पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शन गर्दछ ।
मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन् ।
जनकपुरधाम–२ की नितु मिश्र भन्छन्, ‘मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण हुन्छ ।’
दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले पनि टोल–छिमेकका दाजुभाइ तथा दिदीबहिनीसँग मिलेर पनि यो पर्व मनाउने गरेको उनी बताउछन् । यसबाट दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको मिश्रको भनाइ छ ।
तराईको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय रहेको छ ।
मिथिलाञ्चलमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । रासस
प्रतिक्रिया