होन्डाले २०४० पछि इलेक्ट्रिक गाडी मात्र बनाउने

काठमाडौं । अहिले संसारभर इलेक्ट्रिक गाडीको उत्पादन तथा बिक्री लगातार बढिरहेको छ । पेट्रोल तथा डिजलको मूल्यमा भइरहेको निरन्तर वृद्धिका साथै वातावरणीय सचेतनाका कारण पनि इलेक्ट्रिक गाडीको माग उच्चतम् हुँदै गएको छ ।
यसबीच जापानको दिग्गज कार निर्माता कम्पनी होन्डाले एउटा ठुलो घोषणा गर्दै सन् २०४० पछि केवल इलेक्ट्रिक कारको मात्र उत्पादन एवं बिक्री गर्ने कुरा बताएको छ । यसको अर्थ २०४० पछि होन्डाले पारम्परिक इन्धन (पेट्रोल तथा डिजल) बाट चल्ने वाहनको उत्पादन पूर्ण रूपले बन्द गर्नेछ । यो घोषणा होन्डाका सीईओ तोशिहिरो मिबे आफैंले गरेका हुन् र उनी हालै यो पदमा नियुक्त भएका हुन् ।
होन्डाले यसपटकको सांघाई अटो शोमा एसयूभी-ईको प्रोटोटाइप प्रस्तुत गरेको थियो । यो ती १० वटा इलेक्ट्रिक गाडीमध्ये पहिलो गाडी हो जसलाई होन्डाले आगामी पाँच वर्षमा चिनियाँ बजारमा उतार्ने योजना बनाएको छ । चारचक्के वाहनका अतिरिक्त होन्डाले दुईचक्के वाहनलाई समेत इलेक्ट्रिक भर्सनमा केन्द्रित गर्दै छ । होन्डा कम्पनीको लक्ष्य आउने तीन वर्षभित्र तीनवटा नयाँ मोडलका इलेक्ट्रिक गाडी बजारमा पठाउने पनि छ ।
होन्डाले २०३० सम्म सबै प्रमुख अन्तर्राष्ट्रिय बजारमा इलेक्ट्रिक वाहन र इन्धन प्रयोग हुने गाडीको अनुपात ४०-६० प्रतिशत पुर्याउने लक्ष्य बनाएको छ । सन् २०३५ सम्म यो अनुपात ८०-२० भइसक्नेछ भने २०४० सम्ममा पेट्रोल तथा डिजलबाट चल्ने गाडीको उत्पादन पूरै बन्द हुनेछ ।
होन्डाले गएको वर्ष आफ्नो पहिलो इलेक्ट्रिक कार होन्डा-ई लन्च गरेको थियो जुन एउटा सानो कम्प्याक्ट मोडल हो । होन्डा-ई सिटी ड्राइभिङका लागि तयार पारिएको कार हो जसले फुल चार्जमा २८० किलोमिटरको माइलेज दिन्छ ।
प्रतिक्रिया