बिहीबार, जेठ ९, २०८२

पौडेलले भने – समन्वय समितिले सरकारको काममा कुनै पनि हस्तक्षेप गर्दैन

नेपालखोज २०७८ कार्तिक २३ गते १७:१७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए ।

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे ।

उनले भने– ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रुपमा यसलाई हतियार कसैले बनाउने यो कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरु जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो । पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो पाँच दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने ।’

उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफु रहेपनि नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए । समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रष्ट्याए । आगामी महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए ।

वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए ।

प्रतिक्रिया