बिहीबार, जेठ ९, २०८२

भट्टले भने – सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्नुस्

नेपालखोज २०७८ कार्तिक २३ गते १८:३३

काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका छन् ।

मंगलवार बिहान एमाले उपाध्यक्ष रावलले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभइ समितिको बैठकमा मत राख्न सुझाव दिएका थिए । एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौट्ङकी नदेखाउन पनि चेतावनी दिएका थिए ।

एमाले उपाध्यक्ष रावलले मंगलवार बिहान ट्वीट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि नेकपा एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले पार्टीको असन्तुष्टिलाई जनता र कार्यकर्ताको बीचमा लैजानुले पार्टीलाई फाइदा नहुने बताए । उनले असन्तुष्ट विचारले अन्य पार्टी विपक्षीहरुलाई मात्र खुशी बनाउने बताए ।

नेकपा एमाले कैलालीको पार्टी कार्यालयमा उपाध्यक्ष रावलको अनुपस्थितीमा प्रदेश कमिटीको पूर्ण बैठक चलिरहेको हो । पूर्ण बैठकमा प्रदेश अध्यक्ष थापाले सुदूरपश्चिममा एमाले अधिवेसन शान्तीपूर्ण ढंगले सम्पन्न भएको बताए ।

अध्यक्ष थापाले भने, ‘कुनै किसिमको असन्तुष्टि जनता र कार्यकर्ताको बीचमा लिएर जाने कुराले कसैलाई पनि फाइदा हुनेवाला छैन, यो आन्दोलनलाई त्यसले ठूलो धोका देला, नोक्शानी पुर्‍याउला, विपक्षीहरु खुशी होलान्, बिरोधीहरु हौसेलान्, तर हाम्रो पार्टी पंक्तिलाई कुनै उपलब्धि हुने छैन ।’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिती रहेको छ ।

प्रतिक्रिया