चाडपर्वमा हुने भिडलाई कम गरी पर्व मनाउन स्वास्थ्यमन्त्रीकाे आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले तराई-मधेसमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा छठ पर्वको शुभकामना व्यक्त गरेका हुन् ।
‘एक आपसमा सुख, शान्ति, समृद्धि, भाइचारा, आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, एकता तथा उत्तरोत्तर प्रगतिको शुभकामना साटासाट गरेर मनाइँदै आएको यो पर्वको आफ्नै महत्व र विशेषता छ ।’ उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘धार्मिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण हाम्रो जस्तो मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सद्भाव निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।’
उनले नेपालमा पछिल्लो समय भित्रिएको र महामारीको रुपमा विश्वलाई ज्यादै दुख दिएको कोरोना अर्थात कोभिड-१९ नियन्त्रणमा विभिन्न प्रयास गर्दै आएको र फलस्वरुप यस रोगको प्रभाव पछिल्लो कालमा निक्कै कम पार्न सफल भएकाे उल्लेख गरेका छन् ।
उनले अहिले पनि काेराेना पुर्णरुपमा नियन्त्रणमा नआएकाले चाडपर्वका नाममा हुने भिडभाडलाई कम गर्न आग्रह गरेका छन् ।
प्रतिक्रिया