न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’ कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले न्यून पारिश्रमिक लिने कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सरकारले सहयोग गर्ने बताए ।
उनले टिकटक प्रयोगकर्ताले समाजमा ज्ञान प्रवाह गर्ने सकारात्मक कुराहरुको भिडियो बनाउनु पर्ने बताए । उनले यो कार्यक्रमले समाजमा टिकटकबारे छरिएका विकृतिलाई उजागर गर्ने आशा आफूले लिएको पनि बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले टिकटकलगायतका सामाजिक सञ्जालहरुले सामाजिक मर्यादा कायम गरेर वैज्ञानिक उत्पादनको प्रयोग गर्नुपर्ने बताएका छन् । उनले टिकटक शोले टिकटकलाई विकृतिको थलो नभइ सिर्जनात्मक कुराको थलो बनाउने आशा गरेको बताए । अध्यक्ष दाहालले न्यून पारिश्रमिक भएका कलाकारहरुको सामाजिक सुरक्षा कोषमा सहयोग गरिदिन सरकारसँग आग्रह गरे ।
अध्यक्ष दाहालले भने, ‘सामाजिक मर्यादालाई कायम गरेर वैज्ञानिक उत्पादनहरु प्रयोग गर्नुपर्दछ, सामाजिक सञ्जालको सही सदुपयोग गर्यौं भने हामी शिष्ट बन्न सक्छौँ, टिकटक स्टारहरुलाई यो विकृति मात्रै होइन, सिर्जना हो भनेर चिनाउने अवसर पनि यही हो, प्रयोग कर्ताहरुले टिकटकले विकृति मात्रै ल्याउँदैन, सिर्जनात्मक कुराहरुलाई पनि उजागर गर्छ भनेर चिनाउनुपर्छ ।’
शोमा उत्कृष्ट १० जनाले क्रमशः कार, मोटरसाइकल, स्कुटर, क्यामेरा, ल्यापटप, टेलिभिजन, सातौँ, आठौँ, नवौँ र दशौँले मोबाइल पाउनेछन् । टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा अकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ ।
त्यस्तै टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेण्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मङ्सिर मसान्तसम्म अडिसन राउण्डमा पेश गर्नु पर्नेछ । यसबारे बिस्तृत जानकारी शिखर नेपाल टिकटक स्टारको वेबसाइटमा गराइने आयोजकले जनाएको छ ।
प्रतिक्रिया