शुक्रबार, वैशाख २१, २०८१

हे कालीगण्डकी

श्रवण मुकारुङ २०७८ कार्तिक २७ गते ९:१२

ए कालीगण्डकी…!
हे आमा गण्डकी…!
माकुरोको माउ भयो
तिम्रो जिन्दगी

तिम्रो अमृतधारा पिई
हुर्किएका सन्तान
तिम्रै मुटु कलेजा पो
कुटुकुटु खान्छन्
ए कालीगण्डकी…

तिम्रो नाम कैलाशदेखि
काशी गंगासम्म
तर तिम्रै काख रित्तो
लुटे शालिग्राम
ए कालीगण्डकी…

तिम्रो निश्चल बगाइमा
हिमाल ऐना हेर्थ्यो
कौडा नाच्थे डाँफे मुनाल
घामले भाका फेर्थ्यो
ए कालीगण्डकी…

यता गैह्रो उता पैह्रो
त्चँ ! त्चँ ! कठैबरा
कुन विरह बोकी बसाइँ
सर्यो पानीचरा
ए कालीगण्डकी…

पुर्खा थिए माहुरीझैं
तिमी तिनको रानी
तर तिम्रा सन्तान चैं
तिम्रै मलाम जानी
ए कालीगण्डकी…

लाज, घिन, पाप, धर्म
छैन कुनै डर
आफ्नै आमा बेची मान्छे
बनाउँदैछन् घर
ए कालीगण्डकी…।

  • भोजपुर

यो कबिता कालीगण्डकी बचाऔँ अभियान अन्तरगत “कालीगण्डकी नदी सप्तक
श्रृङखला” (आन्दोलन कविता) का लागि लेखिएको हो ।

प्रतिक्रिया