शुक्रबार, वैशाख ७, २०८१

मनिषा आचार्य भन्छिन्, ‘अक्षरसँगको संगतले खुसी हुन्छु’

नेपालखोज २०७९ माघ १७ गते ८:००

वि.स. २०५२ सालमा झापाको कुमारखोदमा जन्मेकी मनिषा आचार्य स्थायी रुपमा पाँचथरको फिदिम १२ मा बस्दै आएकी छिन् । बाल्यकाल अभावमै विताएकी उनलाई सोही आधारशीलामा पुस्तक लेखिन् । ‘छोरी’उपन्यास पहिलो कृतिका रुपमा सार्वजनिक गरेकी आचार्यसँग नेपालखोज सहकर्मी सुभद्रा ढकालले कुराकानी गरेकी छिन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

साहित्य यात्राको सुरुवात कहिले गर्नुभयो ?
मेरो साहित्य यात्राको सुरुवात विद्यालय देखि नै हो । विद्यालयमा हुने साहित्यिक कार्यक्रममा सहभागि हुन्थे । पाठ्यक्रमभित्रकै नेपाली र अग्रेजी भाषाका कथा, कविता र निबन्ध पढ्दा निकै आनन्द मिल्थ्यो ।

‘छोरी’कस्तो खालको उपन्यास हो ? किन पढ्ने ?
यो उपन्यास एउटा सामाजिक र राजनीतिक कृति हो । जहाँ स्त्री जातिको भोगाइलाई प्रस्तुत गरेकी छु । किन पढ्ने भन्ने सन्दर्भमा बोल्दा कृतिमा समाजमा ब्याप्त जर्जर जात व्यवस्था, यसले निम्त्याएको जटिलता र सामाजिक विभाजन, महिलामाथि पितृसत्ताले ओढाएको घुम्टो र उनीमाथि गरिने तिकडम र ताडनाका स्वरुपहरु, अन्धबिश्वासको भारि बोकेर खुइखुइ गर्दै हिडिरहेका मानिसहरुको दृष्ट्रिछल, घर देखि कार्यालयसम्म महिलाको सुरक्षा, सफलता प्राप्त गर्ने सन्दर्भमा उनको सक्रियता र अठोटका बारेमा लमतन्न परेका भोगाइहरु र सफलताहरुको समग्रता भेटिन्छन् । साथै सपनाहरुलाई साकार पार्नका निम्ति छोरी मान्छेले समाजकाप्रति गर्ने जबर्जस्त हस्तक्षेपलाई बुझ्नका लागि पनि ‘छोरी’उपन्यास पढ्नुपर्छ भन्ने लाग्छ ।

उपन्यास बाहेक कुन–कुन विधामा कलम चलाउनुहुन्छ ?
‘छोरी’उपन्यास मेरो पहिलो कृति हो । यसको अलावा म सामाजिक, राजनीति र युवा पिँढीका जल्दाबन्दा विषयमा आलेखहरु लेख्छु । मलाई गजल र कविता एकदमै मनपर्छ । स्कुल र कलेज जिवनमा कविताहरु लेखेर धेरैपटक पुरस्कृत पनि भएकी छु । मेरो रुची किताबहरु पढ्नमा पनि छ । जे होस्, अक्षरसँगको संगतमा उत्साहित र खुसी हुन्छु ।

तपाइँको बुझाइमा समाजले छोरीलाई कसरी हेर्छ ?
भुगोल अनुसार समाजले छोरीलाई हेर्ने दृस्टिकोण फरक छ । शहर र गाउँमा छोरीहरुले पाउने ब्यवहार र स्वरुपहरु फरक छन् । मुख्य कुरा त चेतना र आचरणको कुरा हो । समाजले छोरी मान्छेका निम्ति भनेर बनाइदिएको बास्केट बिस्तारै भत्किदैछ । उत्तरभन्दा बढि प्रश्नहरुको सामना गर्नुपर्ने स्थितिमा छोरीहरु छन् । सुर्य तातो छ भन्ने कुरालाइ प्रमाणित गर्न कुनै प्रमाणको आवश्यक नभएजस्तै आजपनि छोरीहरु घर–समाजमा पिडित नै भएको कुरालाई ढुक्कसँग भन्न र प्रमाणित गर्न सकिन्छ । बृक्षको जराले बर्षाको पानी सोसेझै छोरीहरु हरेक क्षेत्रमा अगाडि बढिरहदा समाजको चेतनामा पनि बिस्तारै कायापलट हुने कुरामा विश्वस्त छु ।

नयाँ लेखकलाई प्रकाशक र बजारले हेर्ने नजर कस्तो पाउनुभयो ?
प्रकाशकको भूमिका सकारात्मक नै छ । बजारको कुरा गर्दा नयाँ लेखकलाई चुनौति नै छ तर संयमित भएर काम जारी राखे अफसलता टाढा छैन् ।

अहिलेको साहित्यको बजार कस्तो लाग्छ ?
साहित्य समाजको ऐना हो । अज्ञानता र अशिक्षाको उन्मुलन कुनै चक्कि खाएर हुदैन, यसका लागि समाज र उसको मनोविज्ञान पढ्नुपर्छ । पछिल्लो समयमा सुचना र प्रबिधिको तिब्र बिकाससङ्गै साहित्यको प्रचारप्रसार र क्रेज एकदमै राम्रो छ, जस्तो लाग्छ । पछिल्लोसमय त मैले फिजिकल किताबहरु पढ्ने समय नभएका मान्छेहरु पनि डिजिटल किताबहरुमा लिप्त भएको भेटेकी छु । नेपाली समाजमा एकथरि मान्छेहरु अत्यन्तै धेरै पढ्ने र अर्कोथरि मान्छेहरु साहित्यको कुरा गर्दा नाक खुम्च्याउने पनि छन् । नेपाली बजारमा साहित्यको भविस्य एकदमै खुल्ला र बिराट छ ।

अब कुनै संग्रहको तयारीमा हुनहुन्छ ?
रुचि अनुसारको काम गरे खुसी भेटिन्छ रे । त्यसैले अहिलेको फुर्सदको सम्पुर्ण समय त्यसैको निम्ति छ । दोस्रो कृतिको तयारीमा जुटेकी छु ।

लेखनबाहेक अन्य के गर्नुहुन्छ ?
म बिद्यार्थी हूँ । यति हुँदाहुदै पनि बाँच्नका लागि जागिर गर्छु । राजनीतिमा चासो राख्छु । बाल्यकालदेखि नै सामाजिक काम र संघसस्थाहरुसँग पनि थोरबहुत जोडिएकी छु ।

अन्तमा तपाइँलाई भन्न लागेका केही कुरा छन् ?
व्यक्तिका आनन्दका तरिकाहरु फरक फरक हुँदा रहेछन् । हामिले दोस्रो व्यक्तिलाइ असर नपर्ने गरि आफ्ना कर्महरु गर्दै जानुपर्छ । समाजको सहज सन्चालनलाई सहयोग पुर्याउने उद्देश्य हामी सबैको हुनुपर्छ । साहित्यको कुनै जात, धर्म र लिंग हुदैन । त्यसैले समाजलाई लेख्दैजाँदा किताब बन्ने रहेछ । मेरो हकमा पनि त्यहि भएको हो । जिवनमा कहिले पिडाको भयङ्कर बादल मडारिन्छ त, कहिले सुकिलो आकाशको तरङ्ग तरङ्गित हुन्छ । त्यसैले सकारात्मक सोचौ । व्यक्तिलाइ भावनाले होइन, व्यवहारले जित्ने अठोट गरौँ, सकेसम्म सत्कर्म गरौँ । नसके चुप बसौ ।

प्रतिक्रिया