शनिबार, वैशाख १३, २०८२

अंग्रेजी वर्षको अन्तिम चन्द्रग्रहण, कुन राशिलाई लाभ कुनलाई हानि ?

नेपालखोज २०७८ कार्तिक २७ गते ९:००
फाइल तस्बिर ।

काठमाडौं । चन्द्रग्रहण वैज्ञानिक दृष्टिले त महत्त्वपूर्ण हुन्छ नै साथमा यसको धार्मिक तथा ज्योतिषीय महत्त्व पनि छ । धार्मिक दृष्टिले चन्द्रग्रहण लागेका बेला कुनै पनि शुभ कार्य गर्नु हुँदैन । आगामी मङ्सिर ३ गते शुक्रबार (१९ नोभेम्बर) का दिन यो अंग्रेजी वर्षको अन्तिम चन्द्रग्रहण लाग्दै छ । यसपटकको चन्द्रग्रहण वृष राशि तथा कृतिका नक्षत्रमा लाग्ने ज्योतिषहरुले बताएका छन् । ज्योतिषीय मान्यताअनुसार चन्द्रग्रहणको विभिन्न राशिमा विभिन्न किसिमको प्रभाव पर्छ ।

कहिले र कहाँ देखिनेछ चन्द्रग्रहण ?
यो खण्डग्रास चन्द्रग्रहण हुनेछ जुन कार्तिक शुक्ल पक्षको पूर्णिमाका दिन लाग्नेछ । यो ग्रहणको सुरुवात नेपाली समयअनुसार दिउँसो ११:४९ बजे हुनेछ भने समाप्ति साँझ ५:४८ मा हुनेछ । यो ग्रहणको कुल अवधि ५ घण्टा ५९ मिनेट हुने बताइएको छ । यो ग्रहण खासगरी पश्चिमी युरोप, पश्चिम अफ्रिका, उत्तरी अमेरिका, इन्डोनेसिया, थाइल्यान्ड, दक्षिण अमेरिका, अस्ट्रेलिया, ब्रिटेन, रुस, चीन तथा एटलान्टिक महासागरमा देखिनेछ ।

सूतक काल ?
यसपटक दक्षिण एसियामा उपच्छाँया चन्द्रग्रहण मात्र लाग्नेछ । अर्थात् यो क्षेत्रमा नग्न आँखाले ग्रहण हेर्न सकिने छैन । यस्तो अवस्थामा चन्द्रग्रहण हेर्न विशेष उपकरणको आवश्यकता पर्छ । धार्मिक दृष्टिले त्यही ग्रहण महत्त्वपूर्ण हुन्छ जसलाई खुला आँखाले देख्न सकिन्छ । यसपटकको चन्द्रग्रहण नेपालबाट सामान्यत: खुला आँखाले नदेखिने हुँदा यसको सूतक समेत नलाग्ने ज्योतिषहरु बताउँछन् ।

यी राशिका लागि रहनेछ शुभ
यसपटकको चन्द्रग्रहण तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि शुभ फलदायक रहनेछ । यस क्रममा राम्रो परिणाम प्राप्त हुनेछ भने करियरमा सफलता हात पर्न सक्छ । अगाडि बढने अवसरहरु जुट्नेछन् । कामको खोजीमा रहेकाहरुले काम पाउन सक्छन् । उद्योगी-व्यापारीहरुले विशेष लाभ लिन सक्छन् । करियरमा देखापरेको बाधा हट्नेछ । निवेशका लागि समय राम्रो छ । यो ग्रहणका क्रममा मेष, वृष, सिंह तथा वृश्चिक राशि हुनेहरुले सावधान रहनुपर्नेछ । किनभने यी चार राशिका लागि यसपटकको चन्द्रग्रहण अनुकूल देखिँदैन ।

यो चन्द्रग्रहण वृष राशि र कृतिका नक्षत्रमा लाग्ने बताइएको छ । वृषभ राशिको स्वामी ग्रह शुक्र हुन भने कृतिका नक्षत्रका स्वामी सूर्य देव हुन । त्यसैले यो ग्रहणको सबैभन्दा बढी प्रभाव सूर्य ग्रह र शुक्र ग्रहसँग सम्बन्धित मानिसहरुमा पर्नेछ । यो ग्रहणका दौरान सूर्य वृश्चिक राशिमा र शुक्र धनु राशिमा रहनेछन् ।

कुनै पनि खगोलीय घटनाको हाम्रो जीवनमा कसैका लागि शुभ त कसैका लागि अशुभ प्रभाव पर्छ भन्ने ज्योतिषीय मान्यता छ ।

जसअनुसार यसपटकको चन्द्रग्रहण वृष राशिमा लाग्ने भएकाले वृष राशि हुनेहरुले ग्रहणका क्रममा विशेष सावधान रहनुपर्नेछ । यतिबेला स्वास्थ्यसँग सम्बन्धित समस्या सामना गर्नुपर्ने हुनसक्छ । वृषका अतिरिक्त सिंह, वृश्चिक तथा मेष राशि हुनेहरुले पनि स्वास्थ्य सतर्कता अपनाउनुहोला । यी राशिका स्वामीहरुले आर्थिक हानि-नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ । यो समयमा गरिएको लगानी प्रतिकूल फलदायक रहला ।

(माथि उल्लेखित जानकारी प्रामाणिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटिक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागु गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह सहयोग आवश्यक हुन्छ ।)

प्रतिक्रिया