क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडामा निर्माण भइरहेको विमानस्थलको आज निरीक्षण गर्दै उनले हालसम्मको प्रगतिका बारेमा जानकारी लिएका हुन् ।
विमानस्थल आयोजनाका उपप्रबन्धक कृष्णप्रसाद पौडेलले अर्थमन्त्री शर्मालाई हालसम्मको प्रगति, काममा देखिएका समस्या र सरकारका तर्फबाट गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए । आयोजना उपप्रबन्धक पौडेलले हालसम्म विमानस्थलको ८७ प्रतिशत काम सम्पन्न भएको जानकारी गरााएका थिए ।
विमानस्थलको दक्षिणतर्फ अवस्थित रिठेपानी डाँडा कटान, ल्याण्डफिल साइट स्थानान्तरण, पहिरो व्यवस्थापन र बर्खाको भल पानी नियन्त्रण आयोजनाका प्रमुख समस्या रहेको बताउँदै प्रबन्धक पौडेलले सरकारले समस्या समाधानमा सहयोग गर्नुपर्ने बताए। नहरका माध्यमबाट वर्खाको भल निकासका लागि रु ३८ करोड लागत अनुमान गरिएकामा बजेट अभावले काम अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
सो अवसरमा अर्थमन्त्री शर्माले आयोजनाको बाँकी काम सम्पन्न गर्नका लागि बजेटको अभाव हुन नदिने र विमानस्थल सञ्चालनमा बाधा पर्न नदिने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय गौरवका रुपमा रहेको आयोजनालाई छिटो सम्पन्न गर्नका लागि सरकारका तर्फबाट आवश्यक काम गरिने उनले उल्लेख गरे ।
विमानस्थलको दुई हजार ५०० मिटर लामो धावन मार्ग (रनवे) गत वर्ष नै सम्पन्न भएको थियो । टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गरलगायत १४ वटा भवन निर्माण कार्य सम्पन्न भएर साजसज्जा र विद्युत् तथा उपकरण जडान कार्य भइरहेको आयोजनाको आर्थिक प्रशासनका वरिष्ठ अधिकृत सविन फुयाँलले जानकारी दिए।
उनका अनुसार विमानस्थलको ट्याक्सी–वे, ह्याङ्गर, एप्रोन, पार्किङ निर्माणलगायत काम सम्पन्न भएको छ । निर्माणाधीन विमानस्थल तीन हजार ८९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु २२ अर्बको लगानीमा चीनको सिएएमसी इञ्जिनीरिङ कम्पनीले विमानस्थल निर्माण गरिरहेको छ । विमानस्थलका लागि २०३१ सालमा छिनेडाँडाको तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो ।
प्रतिक्रिया