बार अध्यक्ष श्रेष्ठले भने- प्रधानन्यायाधीशलाई पदच्यूत गर्नुपर्छ

नेपालखोज २०७८ कार्तिक २८ गते १३:३६


काठमाडाैं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्यूत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन् । आइतबार (आज) सर्वोच्च अदालतमा धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगेको बताएका हुन् ।

जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए । प्रधानन्यायाधीश जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको उनको आरोप छ ।नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले आइतबार बिहान १० बजेदेखि ११ः३० बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो ।

धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरेका थिए भने असक्षम र अनैतिक प्रधानन्यायाधीश राजीनामा दे, विधिको शासन कायम गर, न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ लगायतका प्लेकार्डहरु प्रर्दशन समेत गरेका थिए । सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेको समयमा सर्वोच्च परिसर बाहिर बार एसोसिएसनको विरोधमा केही व्यक्तिहरुले नाराबाजी गरेका थिए ।

लगत्तै बारको विरोधमा नाराबाजी गर्ने केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्चमा धर्नाको क्रममा बोल्दै बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको वस्तु बनाएको बताए । शान्तिपूर्ण आन्दोलनलाई बिथोल्न बिचौलीयाहरु आएको भन्दै उहाँले बिचौलियाहरुको पनि सम्पति छानविन गरी जफत हुने चेतावनी दिए ।

बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत प्रवेश गरेका थिए । बारले आफूहरुको आन्दोलन जारी रहेको बताएको छ ।

प्रतिक्रिया