पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले सभापति देउवाको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको हो ।
पार्टी केन्द्रिय कार्य समितिका पदाधिकारी र सदस्यहरु, आमन्त्रित केन्द्रिय सदस्यहरु, संघीय संसदका सदस्यहरु, सात वटै प्रदेश संसदीय दलका नेताहरु सो मूल तयारी समितिको सदस्य रहने निर्णय पनि बैठकले गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
त्यसैगरी बैठकले पार्टीको नीति र कार्यक्रम निर्धारण गर्न छुट्टै महाधिवेशन आयोजना गर्ने निर्णय पनि गरेको छ । १४औं महाधिवेशनले नेतृत्व मात्रै चयन गर्ने र त्यसबाट निर्वाचित हुने केन्द्रिय कार्य समितिले पार्टीको नीति र कार्यक्रममा लागि छुट्टै महाधिवेशन गराउने निर्णय गरिएको प्रवक्ता शर्माले बताए ।
त्यसैगरी महाधिवेशनलाई सम्पन्न गराउनका लागि नेता ज्ञानेन्द्रबहादुर कार्कीको संयोजकत्वमा अर्थ समिति गठन गरिएको छ । प्रवक्ता शर्माका अनुसार भोजन तथा आवास समितिको संयोजक सुरेन्द्रराज पाण्डे, विदेश पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति र त्यसमा ललितपुर जिल्ला र भक्तपुर जिल्लाका सभापतिजीहरु सदस्य रहने व्यवस्था गरिएको छ ।
त्यस्तै श्वास्थ्य समितिको संयोजकमा केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रिय सदस्य सिता गुरुङ र स्वयम् सेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना र यो विभिन्न समितिहरुमा संयोजकहरुले आवश्यक्ता अनुसार सदस्यहरु चयन गर्नु हुने निर्णय पनि गरिएको प्रवक्ता शर्माले बताए ।
नेपाली काँग्रेसले सात वटै प्रदेश अधिवेशनहरु सम्पन्न गर्नका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोेकेको छ । जसअनुसार प्रदेश १ मा प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि पार्टीका नेता कृष्णप्रसाद सिटौलालाई संयोजकको जिम्मेवारी दिइएको छ, भने अधिवेशन विराटनगरमा आयोजना हुनेछ ।
प्रवक्ता शर्माका अनुसार प्रदेश २ को अधिवेशन जनकपुरमा हुनेछ र त्यसको संयोजकको जिम्मेवारी केन्द्रिय सदस्य रमेश रिजाललाई दिइएको छ । वाग्गमती प्रदेशको संयोजक पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंह र स्थान हेटौडा तोकिएको छ । गण्डकी प्रदेशको प्रदेश अधिवेशनका लागि संयोजकमा पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठ र स्थान पोखरा तोकिएको छ ।
लुम्विनी प्रदेशको संयोजक बालकृष्ण खाँण र स्थान बुटवल, कर्णाली प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि केन्द्रिय सदस्य जीवनबहादर शाही संयोजक र स्थान सुर्खेत तोकिएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न गराउनका लागि दिलेन्द्रप्रसाद बडुलाई संयोजक तोकिएको र स्थान धनगढी तय गर्ने काम पनि पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको प्रवक्ता शर्माले बताए ।
उनका अनुसार तोकिएका संयोजकहरुले प्रदेश अधिवेशनको अध्यक्षता गर्ने र सो अधिवेशनहरुमा सम्बन्धित प्रदेशका केन्द्रिय सदस्यहरु, जिल्ला सभापतिहरु, प्रदेश सभाका संसदीय दलका नेता र प्रदेश सभाका सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरु, संयोजक र उपसंयोजकहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखहरु, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु जो नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए र पछिल्लो समय नेपाली काँग्रेसमा आवद्ध भएकाहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया