‘अदालतभित्रको विवाद समाधानको लागि अब सत्ता गठबन्धनले नेतृत्व लिनुपर्छ’

काठमाडौं । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको वार्ताको आह्वानको स्वागत गर्दै नेपाल बार अब वार्तामा बस्नुको विकल्प नभएको स्पष्ट पारेका छन् ।
आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले प्रधानन्यायाधीशबाट वार्ताको लागि भएको पहलको स्वागत गरे ।
उनले काठमाडौंको एक ल फर्मममा न्यायाधीशहरुले र आन्दोलनरत वकिलहरुले जारी गर्ने भनेर श्वेतपत्रको मस्यौदा भैसकेकोले त्यो भोलिसम्म जारी भैसक्ने पनि सनसनीपूर्ण खुलासा गरेका छन् ।
उनले नाम नलिकइन श्वेपत्रको मस्यौदा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको निवासमा पुगेको ईंगित गरेका हुन् । पोखरेलले बारले आफ्नो पूर्व घोषित कार्यक्रमअनुसार आजसम्म सबै राजनीतिक दललाई न्यायालयभित्रको विवादबारे ज्ञापनपत्र बुझाउनुपर्नेमा त्यो आजसम्म नगरिएकोमा गुनासो पोखे ।
उनले प्रधानन्यायाधीशको राजीनामा कि महाभियोग ? भन्ने कुरा आएको उल्लेख गर्दै प्रधानन्यायाधीशलाई राजीनामाबाट नभएर महाभियोगबारे मार्गप्रशस्त गराउनुपर्ने धारणा राखे ।
उनले अदालतभित्रको विवाद समाधानको लागि अब सत्ता गठबन्धनले नेतृत्व लिनुपर्नेमा जोड दिए । उनले अब प्रधानन्यायाधीश जबरासहित २० जनाले नै एकमुष्ट रुपमा राजीनामा दिनुपर्ने बताए ।
वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व उपाध्यक्ष डा. सुरेन्द्र महतोले प्रधानन्यायाधीश जबराले बोलाएको वार्तामा आफूहरु सहभागी नहुने स्पष्ट पारेका छन् । नेपालको न्यायापालिकामा अहिले असहज परिस्थिति आएको महतोको भनाई थियो ।
उनले प्रधानन्यायाधीश जबराबाहेक सबै न्यायाधीशहरु विद्रोहमा रहेको सुनाए । उनले नेपाल बारलाई कमजोर नआँक्नसमेत चेतावनी दिएका छन् ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको निर्देशन र षड्यन्त्रअनुसार अहिलेको गतिविधि भएको आरोप लगाएका छन् । उनले नागरिकलाई चाहिने सबैभन्दा महत्वपूर्ण दुई निकायमा अदालत र अस्पताल भएको उल्लेख गरे ।
उनले न्यायाधीशहरुले बेन्च बहिष्कार गर्नु यो व्यवस्थाको असफलताको पराकाष्ठा भएको पनि दाबी गरे ।
उनले वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीशहरुलाइ खुस खुवाएको भनेर सार्वजनिक कार्यक्रममै बोलेको उल्लेख गर्दै सोधे–‘शम्भु थापाले को को न्यायाधीशलाई घुस खुवाए ? जम्मै कुरा भन्नुपर्छ । साँचो कुरा गरेको हो भने भन्नुहोस शम्भु थापाजी । दुनो सोझ्याउने काम गर्नुहुँदैन् । प्रधानन्यायाधीशले राजीनामा दिए नेपालको स्वतन्त्र न्यायापालिका सिद्दिन्छ । भूमिगत गिरोहको नियन्त्रणमा अदालत जान्छ। रुलको होईन, हुलको शासन सुरु हुन्छ ।’
उनले न्यायाधीश, वकिल र सबै मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले केपी ओलीकै शैली अपनाएको आरोप लगाएका छन् ।
उनले प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट हटाउ भनेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबरा भने संविधानतः असफल भैसकेको दाबी गरे ।
उनले अहिले प्रधानन्यायाधीश जबरासँग विनोदचौधरीको भन्दा बढि पैसा छ भनेर चर्चा चलेको पनि स्मरण गराए । उनले प्रधानन्यायाधीश जबराले आफूमाथि लागेको आरोप फेश गर्ने क्षमता नभएर शक्तिको सहारा लिएको पनि आरोप लगाए ।
उनले प्रधानन्यायाधीश जबराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नु नै अशोभनीय भएको सुनाए ।
प्रतिक्रिया